काठमाडौं । संघीय राजधानी जोड्ने लाइफलाइन नागढुंगा-मुग्लिन सडकको कृष्णभीरमा नदी कटानले पूरै सडक खसेपछि काठमाडौंको पश्चिम क्षेत्रसँग सडक सम्पर्क टुटेको छ ।
आइतबार बिहान त्रिशूलीको बाढीले भित्तो कटान गर्दा धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा सडक भासिएको थियो । तर, दिउँसो थप पहिरो गएपछि सडक पूरै बगेको हाे ।
अझै पनि उक्त स्थानमा पहिरो जाने क्रममा कायमै रहेको धादिङ प्रहरीले जनाएको छ । सडक पूरै भासिएपछि मानिस हिँडडुल गर्न समेत रोक लगाइएको छ ।
सडक विभागको प्राविधिक टोलीले कृष्णभीर सडकको अध्ययन थालेको छ । उक्त टोलिले दिएको सुझावका आधारमा सडक सुचारु गराउन आवश्यक काम थालिने विभागका अधिकारीहरूले बताएका छन् ।
तर, पहिरो खस्ने क्रम जारी नै रहेकाले तत्कालै खुल्ने देखिँदैन् । तलतिर नदी र माथिबाट पनि पहिरो गइरहेकाले तत्कालै नयाँ ट्रयाक खोल्नसक्ने सम्भावना छैन । यससँगै काठमाडौंबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमतर्फ जाने सिधा बाटो बन्द भएको छ ।
अब यी क्षेत्रमा जाने सवारीले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । यद्यपि, वैकल्पि मार्ग हुँदा जाँदा यात्रा दुरी र अवधि लम्बिने छ ।
यी हुनै वैकल्पिक सडक
पृथ्वी राजमार्गको विकल्पमा मुख्यगरी ४ वटा सडक हुँदै काठमाडौंबाट पश्चिम क्षेत्र आउजाउ गर्न सकिन्छ । कान्ति लोकपथ, त्रिभुवन राजपथ, बल्खु-कुलेखानी-हेटौंडा र मध्यपहाडी राजमार्गबाट यात्र गर्न गर्न सकिन्छ । यीमध्ये ३ सडक प्रयोग गर्दा हेटौंडा निस्किएर चिनवन हुँदै पश्चिम जानुपर्ने हुन्छ भने मध्यपहाडी राजमार्ग प्रयोग गर्दा गोरखा हुँदै जानुपर्छ ।
७९ किमी लामो कान्ति राजमार्ग हुँदै हेटौंडा निस्कन सकिन्छ । यो सडक हुँदै साना तथा मध्यम सवारीले यात्रा गर्न सक्छन् । साँघुरो र घुमाउरो रहेकाले ठूला सवारी आवतजावत गर्न असहज हुन्छ । यद्यपि, यो राजमार्ग भरपर्दो र सुरक्षित छैन । विभिन्न स्थानमा पहिरो खस्ने जोखिम रहेकाले रातिको समयमा बन्द गरिएको छ । कान्तिलोकपथ हुँदै नारायणगढ पुग्न करिब १५५ किमी दुरी पार गर्नुपर्छ । यात्रा अवधि करिब साढे ४/५ घण्टा लाग्छ ।
दोस्रो, विकल्पमा काठमाडौं-सिस्नेरी-हेटौंडा र काठमाडौं-फर्पिङ-कुलेखानी-हेटौंडा सडक प्रयोग गर्न सकिन्छ । यी सडक पूरै कालोपत्रे छ । साना तथा मझौला सवारीले प्रयोग गर्न सक्छन् । काठमाडौंबाट कुलेखानीसम्म दुईलेनको भए पनि देउरालीबाट भीमफेदीसम्म एक लेनको मात्रै छ । भीमफेदीबाट हेटौंडासम्म दुईलेनको छ । यो सडक हुँदै काठमाडौंबाट नारायणगढ पुग्न करिब १६० किलोमिटर यात्रा गर्नुपर्छ भने करिब ५/६ घण्टा लाग्छ ।
तेस्रो, विकल्पमा त्रिभुवन राजपथ प्रयोग गर्न सकिन्छ । यो सडकबाट साना ठूला सबै सवारी चल्न सक्छन् । यो सडकबाट नारायणगढ पुग्न करिब २०५ किलोमिटर यात्रा गर्नुपर्छ । हेटौंडा नपुग्दासम्म बाटो साँघुरो र घुमाउरो रहेकाले नारायणगढ पुग्न ६/७ घण्टा लाग्न सक्छ ।
चौथो, विकल्प आबुखैरेनी-आरुघाट हुँदै मध्यपहाडी राजमार्ग । तनहुँको आबुखैरेनीबाट गोरखाको मसानेठाँटी हुँदै आरुघाट पुग्न सकिन्छ । आरुघाटबाट धादिङबेसी-सुनौलाबजार-फोर्सेटार-कल्लेरीटार हुँदै गल्छीको त्रिशुली पुलमा निस्किन सकिन्छ । यो सडक पनि अधिकांश भाग कालोपत्र रहेको छ भने ठूला सवारी पनि संचालन हुन सक्छन् । यो सडक हुँदै काठमडौंबाट आबुखैरेनी निस्किन करिब १६०/१७० किलोमिटर पार गर्नुपर्छ । यात्रा अवधि करिब ५/६ घण्टा लाग्छ ।


