काठमाडौं । नेपालमा कुनै पनि गाडीको मूल्य एक वर्षमा २ पटक वा ३ पटकसम्म बढ्ने गरेको हामीले देखेका र भोगेका छौं । तर, महिन्द्राले विगत दुई वर्षदेखि नेपालमा विक्री गर्दै आएको एक्सयूभी ३०० को अहिलेसम्म मूल्यमा कुनै किसिमको परिमार्जन भएको छैन ।
अग्नी इन्कर्पोट प्रालिले सन् २०२० मा नेपाल ल्याएको एक्सयूभी ३०० कोभिड १९ को संक्रमण फैलिनुभन्दा केही समयअघि मात्रै नेपाल आएको थियो । कोभिड संक्रमणपछि सप्लाईमा आएको समस्या लगायतका कारण एक्सयूभी ३०० संख्यात्मकरुपमा समेत धेरै विक्री हुन सकेको छैन ।
सुरुमा नै आफ्नो इन्ट्री भेरियन्टको मूल्य ३९ लाख ७५ हजार कायम गरेर विक्री सुरु भएको एक्सयूभी ३०० को मूल्य अहिले पनि सबै भेरियन्टको एउटै रहेको छ ।

ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एक्सयूभी ३०० भारतमै उत्पादन भएको सर्वाधिक सुरक्षित कार हो । साथै, चाइल्ड सेफ्टीमा ४ स्टार रेटिङ पाउने यो पहिलो भारतमा बनेको गाडी हो ।
महिन्द्रा एक्सयूभी ३०० मा सुरक्षा फिचरको रुपमा स्टायडर्ड भेरियन्टमा दुई एयरव्याग, एबीएस, इबीडी, कर्नरिङ ब्रेकिङ कन्ट्रोल, चारै चक्कामा डिस्क ब्रेक, सिट बेल्ट रिमाइन्डर, एयरव्याग एक्टीभेसन स्विच, फ्रन्ट पार्किङ सेन्सर र टप भेरियन्टमा ६ एयरव्यागसम्म दिइएको छ ।
यसमा उपलब्ध १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ५००० आरपीएममा ११० पीएस पावरका साथै ३५ सय आरपीएममा २०० एनएम टर्क उत्पादन गर्छ । १.५ लिटर डिजेल इन्जिन पनि यसमा पाउन सकिन्छ । डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावर र १५२५ आरपीएममा ३०० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ ।

महिन्द्रा एक्सयूभी ३००को माथिल्ला भेरियन्टमा किलेस इन्ट्री, पुश वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार-प्ले, एन्ड्रोइड अटो, टु-ट्वीटर, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर-र्याप स्टेयरिङ्ग ह्वील र गियर-नोभ, कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामरा गाइडलाइन, सिक्स-वे एड्जस्टेबल ड्राइभर सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।
यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान-टचअप डाउन ड्राइभर साइड विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश फ्रन्ट एन्ड रियर स्किड प्लेट दिइएको छ ।

