काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले उत्पादन गरेको ग्लोबल मोडल भेन्यूको फेसलिफ्ट मोडल अहिले परिक्षणको क्रममा रहेको छ । कम्पनीले करिब ६ महिना अघि कोरियामा परिक्षण गरेको तस्बिर बाहिर आएको थियो । अब भने कम्पनीले भारतमा पनि यसको परिक्षण सुरु गरेको हो ।
भारतमा बन्ने भेन्यू नै नेपाल आउने भएकोले यसमा हाम्रो चासो हुनु स्वभाविक हो । कम्पनीले फेसलिफ्ट मोडल कहिले बजारमा आउँछ भन्ने विषयमा केही नखुलाएपनि यही वर्ष सेप्टेम्बरसम्ममा यसको विक्री सुरु हुने अपेक्षा गरिएको छ ।
हुन्डाईले मे, २०१९ मा सार्वजनिक गरेको सब फोर मिटर एसयूभी अहिले पनि वेष्ट सेलिङ मोडल मध्यको एक हो । मिडलाइफ परिवर्तन भएको कारण नयाँ भेन्यूमा धेरै परिमार्जन हुने अनुमान गर्न सकिदैन । यद्यपी अगाडि र पछाडिको बम्पर, अलोय ह्वील र टेललाइटमा व्यापक परिवर्तन देख्न सकिन्छ ।
सार्वजनिक भएको तस्विरलाई आधार मान्ने हो भने यसको हेडलाइटमा परिवर्तन हुने छैन । गाडीको साइड प्रोफाइलमा पनि कुनै परिवर्तन हुने छैन । यसको इन्टेरियरमा पनि केही कही बाहेक अन्य परिवर्तन हुने अपेक्षा गर्न सकिदैन ।
कम्पनीले यसको इन्जिनमा पनि कुनै परिवर्तन गर्ने छैन । भेन्यूमा तीन इन्जिन अप्सन र तीन गियरबक्स अप्सन दिइएको छ । १.० लिटर टर्बो, १.२ नेचुरल्ली एस्पीरेटेड पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन अप्सन उपलब्ध हुनेछ ।

