काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । सन् २०२३ जनवरीबाट डेलिभरी सुरु गर्नेगरी आउन लागेको एक्सयूभी ४०० निकै आकर्षक फिचरको साथ देखिएको हो ।
महिन्द्राले यसमा पीक पावर ११२ किलोवाट क्षमताको मोटर दिएको कारण नेपाली ग्राहकभने यसबाट निरास बन्ने भएका छन् । यद्यपि महिन्द्राले निकै उत्कृष्ट फिचरसहित बजारमा ल्याएको यो मोडल नेपाली बजारमा विक्री वितरण भने हुनेछ ।
महिन्द्राको एक्सयूभी ३०० बाट प्रेरित यो एसयूभीले बजारमा उपलब्ध टाटा नेक्सनदेखि एमजी जेडएस ईभीसम्मलाई टक्कर दिने देखिन्छ । कम्पनीले यसमा हुन्डाई कोना र टाटा नेक्सन म्याक्स कै हाराहारी ३९.४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिएको छ ।
अधिकतम १५० हर्सपावर र ३१० एनएम टर्क प्रदान गर्ने एक्सयूभी ४००ले सून्यदेखि १०० किमिसम्मको रफ्तार केवल ८.३ सेकेन्डमा भेट्टाउने छ । यसको उच्च गति क्षमता १५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

महिन्द्राले एक पटकको फुल चार्जमा ४५६ किलोमिटर रेन्ज दावी गरको भएपनि अहिलेसम्म यो साइजको ब्याट्री र मोटर रहेको अन्य ब्राण्डका ईभीले ३०० किलोमिटरभन्दा माथि रेन्ज दिएको भेटिदैन ।
महिन्द्राले एक्सयूभी ४०० लाई स्टायडर्ड रुपममा ३.३ किलोवाट क्षमताको १६ एम्पीयरको चार्जर दिएको छ । उक्त चार्जरले कारलाई फुल चार्ज गर्न १३ घन्टा लगाउने छ । साथै, ७.२ किलोवाटको चार्जरले ६ घन्टा ३० मिनेटमा फुल चार्ज गर्ने कम्पनीको दावी छ । यसलाई ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्नेगरी तयार गरिएको छ । यदि ५० किलोवाट क्षमताको चार्जरले चार्ज गर्ने हो भने सून्यदेखि ८० प्रतिशत चार्ज गर्न ३० मिनेट मात्रै लाग्ने छ ।

महिन्द्राले एक्सयूभी ४०० मा तीन ड्राइभिङ मोड दिएको छ । जसमा फन, फास्ट र फियरलेस मोड पाउन सकिन्छ । त्यसैगरी यसमा आवश्यकता अनुसार लेभल छनोट गर्न मिल्ने रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको छ ।
एक्सयूभी ३०० कै प्लेटफर्ममा तयार भएको ईभीको साइज भने ठूलो छ । यसको लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम र ह्वीलबेस २६०० एमएम दिएको छ । यसमा ग्राहकले ३७८ लिटरको बुट स्पेश पाउने छन् ।

एक्सयूभी ४०० मा १६ इन्चको अलोय ह्वील, आकर्षक डिजाइनको एलइडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर एलइडी हेडल्याम्प, बीचमा दिइएको महिन्द्राको टुइन पीक लोगो पाउन सकिन्छ ।
यसको क्यावीन धेरै हदसम्म महिन्द्रा एक्सयूभी ३०० सँग मिल्दो जुल्दो छ । विभिन्न ६० भन्दा धेरै कनेक्ट फिचर उपलब्ध ईभीमा ड्यूल जोन क्लाइमेट कन्ट्रोल, इन्फोटेन्टमेन्ट सिस्टम, ६ वटा एयरब्याग, सबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।


