काठमाडौं । एक दर्जन हाराहारी नयाँ कार मोडल नेपाल आइपुगेका छन् । विभिन्न कम्पनीका नयाँ मोडल नाडा अटो शोमा प्रदर्शनी गर्न नेपाल आइपुगेको हो ।
अटो शोको लागि भनेर नै जिकर एक्स, एक्सपेङ जी-सिक्स, लिप मोटर्सको सी-११, टाटा पन्च, बीवाइडी एटो थ्री ब्ल्याक एडिसन, डोङफेङ नामी, नयाँ जेनेरेशन सुजुकी स्वीफ्ट, केई क्यूट २ र क्यूट ४ मोडल काठमाडौं आईपुगेको हो ।

त्यसका अलावा एमजी साइबरस्टर, दिपल एल-०७, एचइभी-३००, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ जस्ता मोडलहरु काठमाडौं आइसकेका छन् । नाडा अटो शोको लागि बीएडब्लूको ब्रेम्बी ह्याचव्याक पनि काठमाडौं आइसकेको छ ।
अहिले आएका नयाँ ब्राण्डमा जिकरदेखि एक्सपेङसम्म सबै प्रिमियम ब्राण्ड हुन् । त्यस्तै साना ईभी पनि राम्रै संख्यामा उपलब्ध हुनेछन् । मूल्यका हिसावले २२ लाखदेखि १ करोड ७० लाखसम्म मूल्य पर्ने ईभीहरु अटो शोमा प्रदर्शनी हुनेछन् ।

बीएडब्लूको ब्रेम्बी र केईको क्यूट २ सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुनेछन् । महंगो मोडलमा एमजी साइबरस्टर सबैभन्दा माथि रहनेछ । यसको मूल्य १ करोड ६५ लाख रुपैयाँ हारहारी पर्नेछ ।
यी सबै मोडलहरुलाई अटो शोमा प्रदर्शनी गर्ने तयारी भइरकेको छ । भृकुटीमण्डपमा भदौ ११ गते मंगलवारदेखि सुरु हुने नाडा अटो शो २०२४ भदौ १६ गतेसम्म चल्नेछ ।



