काठमाडौं । नेपाली बजारमा मारुती सुजुकीको उत्पादन भिटारा ब्रेजाले धेरैको ध्यान खिच्न सफल भएको छ । सन् २०१८ मा करिब ८०० युनिट ब्रेजा बिक्री भएको नेपालको लागि सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्प स्रोतले जनाएको छ ।
त्यसो त भिटारा ब्रेजाले फोर्डको इकोस्पोट र हुन्डाई क्रेटाको बेस भेरियन्टको बिक्रीमा असर पारेको थियो । त्यसमा पनि टाटा नेक्सनको आगमनसँगै कम्प्याक एसयूभी सेग्मेन्टमा कडा टक्कर चलिरहेको छ ।
अब यो सेग्मेन्टमा अझ कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली बजारमा केही दिन अघि भित्रीएको महिन्द्राको ‘एक्सयुभी–३००’ यतिबेला चर्चामा रहेको छ । यसले भारतीय बजारमा निकै राम्रो पफमेन्स गर्ने देखिएको छ ।
महिन्द्राको नयाँ कम्प्याक एसयूभी भारतीय बजारमा सार्वजनिक हुनु अघिनै ४ हजारभन्दा बढी बुकिङ भइसकेको थियो । भारतमा सार्वजनिक लगत्तै महिन्द्राले काठमाडौंको भृकुटीमन्डपमा आयोजना गरेको एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ मार्फत एक्सयूभी ३०० सार्वजनिक गरेको थियो ।
यस्तोमा हामीले नेपाली बजारमा उपलब्ध भिटारा ब्रेजा र एक्सयूभी ३०० को डिजाइन, पावर, इन्जिन, मूल्यलगायतका विविध विषयमा यी दुई मोडलबीचको भिन्नता तथा समानता केलाउने प्रयास गरेका छौं ।
इन्जिन
मारुती सुजुकीले भिटारा ब्रेजामा १.३ लिटर फोर सिलिन्डर डिजेल इन्जिन दिएको छ । जसले, ८९ बिएचपी पावरका साथै २०० एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी ट्रान्समिसन दिइएको छ ।
त्यसैगरी महिन्द्रा एक्सयुभी ३०० डिजेल र पेट्रोल दुबै इन्जिनम उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ११५ पीएस पावरका साथै ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड म्यानुयल ट्रान्समिसन दिइएको छ ।

पावरको हिसावले हेर्नेहो भने, महिन्द्राको एक्सयूभी ३०० भिटारा ब्रेजाभन्दा निकै पावरफुल रहेको छ ।
माइलेज
मारुती सुजुकी भिटारा ब्रेजाले प्रतिलिटर २४.३ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ भने, डिजेल इन्जिनयुक्त एक्सयूभी–३००ले प्रतिलिटर २० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
पेट्रोल भेरियन्टको एक्सयुभी ३०० ले प्रतिलिटर १७ किलोमिटर माइलेज दिने एआरआई सर्टिफाई रहेको छ ।
दुबै डिजेल इन्जिनलाई तुलनात्मकरुपले हेर्दा भिटारा ब्रेजाको माइलेज उत्कृष्ट रहेको छ ।
डायमेन्सन
एक्सयुभी–३००को लम्बाई ३ हजार ९९५ एमएम, चौडाई १ हजार ८२१ एमएम, उचाई १ हजार ६१७ एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेश दिइएको छ भने, २६५ लिटर बुट स्पेश रहेको छ ।
यस्तै, बे्रजाको लम्बाई ३ हजार ९९५ मिमि, चौडाई १ हजार ७९०, उचाई १ हजार ६४० एमएम रहेको छ । यसमा २५०० एमएमको ह्वीलवेश र ३२८ लिटर बुट स्पेश दिइएको छ ।
ह्वीलवेस र चौडाईमा ब्रेजामाथि एक्सयूभी ३०० भारी पर्छ भने उचाई र बुटस्पेशमा ब्रेजा अगाडि रहेको छ ।
फिचर
ब्रेजामा आन्तरिक सजावटका लागि पियानो फिनिससहित स्पोर्टी सिटको प्रयोग गरिएको छ । कारमा चालक तथा यात्रुको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । यसका लागि कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ । साथै, एयरब्याग, एबीएसलगायत सुविधा पनि कारमा उपलब्ध छ ।
कम्पनीले कारमा एप्पल कार प्लेसहितको इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, पावर विण्डोलगायत फिचर्स उपलब्ध गराएको छ । कारमा किलेस इन्ट्री, स्टेरिङ्ग माउन्टेड कन्ट्रोल, ब्लूटूथ, भ्वाइस कमाण्ड, इन्जिन स्टार्ट स्टप बटन, क्यामरासहितको पार्किङ सेन्सर, अटो एसीलगायत सुविधा उपलब्ध रहेको छ ।
यस्तै महिन्द्रा एक्सयूभी–३००मा किलेस–इन्ट्री, पुश–वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, टु–ट्वीटर, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर–र्याप स्टेयरिङ्ग ह्वील र गियर–नोभ, ईएसपी हिल–होल्ड, इन्जिन स्टार्ट–स्टप, डबल–जोन एसी, क्रुज कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामरा गाइडलाइन, सिक्स–वे एड्जस्टेबल ड्राइभर–सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।

यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान–टचअप डाउन ड्राइभर साइड–विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश–फ्रन्ट एन्ड रियर–स्किड प्लेट, रुफरेल दिइएको छ ।
मूल्य
नेपाली बजारमा मारुती भिटारा ब्रेजा भिडीआई ०, जेडडीआई प्लस र जेडडीआई प्लस डियुल गरि तीनवटा भेरियन्टमा बिक्री वितरण भैरहेको छ । यसको लो भेरियन्ट भिडीआई–० को मूल्य ३७ लाख ४९ हजार रहेको छ भने जेडडीआई प्लसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ । जेडडीआई प्लस डियुल भेरियन्टको मूल्य ४२ लाख २९ हजार नेपाली रुपैयाँ रहेको छ ।
यस्तै, महिन्द्राले नेपाली बजारमा एक्सयुभी–३००को मूल्य टुङ्गाएको छैन । भारतीय बजारमा भने ब्रेजाको इन्ट्री भेरियन्टको मूल्य ७ लाख ८४ हजार र एक्सयूभीको इन्ट्री भेरियन्टको मूल्य ८ लाख ४९ हजार भारतीय रुपैयाँ रहेको छ । महिन्द्रा एक्सयूभीको मूल्य यही मार्च महिनामा टुङ्गो लाग्ने महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले जनाएको छ ।
निस्कर्ष
भारतीय बजारमा ४ लाख युनिट बिक्री भएको ब्रेजा र ४ हजार युनिट बिक्री भएको एक्सयूभी ३०० को प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ । मारुती सुजुकी र महिन्द्रा नेपाली बजार दुबै निकै चर्चित ब्रान्ड हुन् । अझ भनौ एसयूभी सेगमेन्टमा त महिन्द्राको बजार हिस्सा नेपालको अटो बजारमा सबैभन्दा धेरै रहेको छ । एक्सयूभी–३०० ले कस्तो व्यापार गर्छ त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।

