भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकीले पछिल्लो समयमा हरेक वर्ष आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । कम्पनीले अहिले भारतमा ५० प्रतिशतभन्दा बढी मार्केट सेयर लिएर बसेको छ ।
भारतीय बजारमा एकछत्र राज गरेको कम्पनीले आगामी दुई वर्षमा १४ हजार करोड भारतीय रुपैयाँ लगानी थप गर्दै नयाँ मोडलहरू ल्याउने योजना अगाडि ल्याएको हो ।
मारुती सुजुकीले अबको २ वर्षभित्र १० देखि १२ वटा नयाँ मोडलका कार बजारमा उतार्ने तयारी गरेको जनाएको छ ।
यी नयाँ मोडलका गाडीहरू सन् २०१९ अप्रिलबाट भारतमा लागू हुन लागेको सुरक्षा मापदन्ड र २०२० बाट लागू हुन लागेको नयाँ प्रदूषण मापदन्ड बीएस–६ अनुसार हुने कम्पनीले जानकारी दिएको छ ।
मारुती सुजुकीले २०१९ को सुरुवातमा नै अल न्यू एर्टीगा बजारमा ल्याएको थियो भने बलेनो फेसलिफ्टलाई पनि बजारमा ल्याएको छ ।
यस्तै, २०१९ मा नै कम्पनीले इग्निस, अल्टो, सेलेरियो, सियाजलाई अल न्यू मोडलको रुपमा बजारमा ल्याउनेछ ।
मारुती सुजुकीले भविष्यमा माईक्रो एसयूभीको अवधारणामा नयाँ कार लन्च गर्ने तयारीसमेत गरिरहेको छ ।
त्यसैगरी, कम्पनीले भविष्यमा विद्युतीय र हाइब्रिड कारहरू ल्याउने तयारी गरिरहेको जनाएको छ । फलस्वरुप कम्पनीले आफ्नो चर्चित टल ह्याचव्याक कार वागेन–आरलाई आफ्नो पहिलो विद्युतीय कारको रुपमा सन् २०२० सम्ममा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यसकासाथै कम्पनीले नयाँ हाइब्रिड गाडीको लागि टोयोटोसँगको सहकार्यमा काम अगाडि बढाएको जनाएको छ ।
साथै, कम्पनीले सन् २०१९ मा भारतीय बजारमा २० लाख युनिट कार बेच्ने लक्ष्य राखेको छ ।

