उच्च माइलेज र उत्कृष्ट मूल्यको नयाँ कार अर्को महिना नेपाल आउने

काठमाडौं । कम मूल्यको ह्याचव्याक खोज्ने ग्राहकलाई लक्षित गर्दै मारुती सुजुकी सेलेरियो जनवरीमा नेपाल आउने भएको छ । सन् २०१४ पछि पहिलो पटक कम्पनीले नयाँ जेनेरेशन मोडलको रुपमा बजारमा ल्याएको सेलेरियो सिजी मोटोकर्पले जनवरीमा नेपाल ल्याउने तयारी गरेको हो ।

यसअघि पनि नेपाली बजारमा सेलेरियो निकै सफल ह्याचव्याक रहेको थियो । पहिलेको भन्दा नयाँ सेलेलिरो थप आकर्षक र उत्कृष्ट माइलेज दिनेगरी आएको दावी कम्पनीले गरेको छ । यस्तोमा खस्कदो साना ह्याचव्याक कारको बजारमा सेलेरियोले कस्तो व्यापार पाउने छ त्यो भने हेर्न अझै केही समय कुर्नु पर्ने हुन्छ ।

मारुती सुजुकीले पहिलो पटक सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन दिएको छ । आइडियल स्टार्ट/स्टप सिस्टम सहित आएकोले यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले दावी गरेको छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले भारतमा म्यानुयल र एएमटी गियरबक्समा विक्री गर्दै आएको छ । नेपाल कुन गियरबक्समा आउने छ भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।

लम्बाई र उचाई पहिलेको मोडल जस्तै समान ३६९५ एमएम र १५५५ एमएम रहेको नयाँ सेलेरियोको चौडाई भने ५५ एमएम बढी रहेको छ । यसको चौडाई १६५५ एमएम छ । ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

पहिलो पटक सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर थप गरेको छ । क्यावीन पनि पहिलेको तुलनामा प्रिमियम पाउन सकिन्छ ।

यसको नेपाली बजारमा कुन भेरियन्ट आउँछ भन्ने एकिन भएको छैन । यस्तोमा सुरुवाती भेरियन्टदेखि नै नेपाल आउने हो भने २५ लाखदेखि ३२ लाखसम्ममा नयाँ जेनेरेशन सेलेरियो उपलब्ध हुने हाम्रो अनुमान गर्न सकिन्छ ।


Back_to_top