काठमाडौं । विश्व बजारमा देखिएको सेमी कन्डक्टरको समस्या समाधान हुन सकेको छैन । सेमी कन्डक्टरको समस्याको कारण कम्पनीहरुले बजार माग अनुसार गाडी उत्पादन गर्न नसक्दा वितरण प्रणालीमा नै समस्या देखिएको हो ।
भारतमा संचालित अटो उत्पादक कम्पनी टाटा बाहेक अन्य सबै कम्पनीको उत्पादनमा समस्या देखिएको छ । टाटाको पनि इलेक्ट्रीक कार उत्पादनमा समस्या देखिदै आएको छ ।
भारतमा गाडी उत्पादन गर्ने हुन्डाई, महिन्द्रा, मारुती सुजुकी, किया, एमजी, जीप, फक्सवागेन, रेनो, स्कोडा जस्ता कम्पनीले बजार माग अनुसार गाडी उत्पादन गर्न सकिरहेका छैनन् । त्यहि कारण नेपालमा पनि मुख्य कम्पनीहरुले विक्री गर्ने चल्तीका मोडल उपलब्ध हुन सकेको छैन ।
अहिले नेपालमा पनि हुन्डाई क्रेटा, किया सोनेट र सेल्टोस, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन जस्ता मोडल सहजै किन्न पाइने अवस्था छैन । त्यसैगरी महिन्द्राका स्कर्पियो, एक्सयूभी ३०० जस्ता मोडलको सप्लाई करिब एक वर्षदेखि माग अनुसार हुन सकेको छैन । महिन्द्राले नेपाल ल्याउने प्रयास गरेपनि थार, एक्सयूभी ७०० जस्ता मोडल नेपाल आउन सकेको छैन ।
प्रिमियम ब्राण्डले पनि आफ्नो उत्पादन माग अनुसार दिन सकेका छैनन् । यसले समग्र अटोमोवाइल व्यवसायमा नै समस्या सृजना गरिरहेको छ । जीप, बीएमडब्लू, मर्सिडिज जस्ता ब्राण्डले उत्पादन गरेका कार पनि सहजै पाउन सक्ने अवस्था छैन ।
चाडपर्वको समयमा बुकिङ लिएका कतिपय गाडी अहिलेसम्म ग्राहकलाई हस्तान्त्रण गर्न नसकेका कम्पनीले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावसँगै अर्को समस्या झेल्नु पर्ने देखिएको छ । कम्पनीहरुलाई बढ्दै गएको बैंक व्याजदर, गाडी सप्लाईमा देखिएको समस्या जस्तासँग पार पाउन अझै केही महिना लाग्ने देखिएको छ ।

