काठमाडौं । मारुती सुजुकी स्वीफ्ट किन्न चाहने ग्राहकलाई लक्षित गर्दै स्काईलाइन मोटर्सले मनसुन स्कीम चलाई रहेको छ । कम्पनीले चलाएको स्कीममा १० लाख २० हजार डाउन पेमेन्ट वा मासिक ३१ हजार ८५८ रुपैयाँ किस्ता मध्ये एक छनोट गरेर गाडी दिने भएको हो ।
सिजी मोटोकर्पको भक्तपुर राधेराधेको डिलर स्काईलाइन मोटर्सले जुनसुकै स्कीम छनोट गरेर गाडी किन्ने ग्राहकलाई १ लाख नगद छुट र एक वर्षको सवारीसाधन कर तिरिदिने जनाएको छ ।
कम्पनीले अहिले स्वीफ्टको भिएक्सआई र जेडएक्सआई मोडल विक्री वितरण गर्दै आएको छ । कम्पनीले तोकेको १० लाख २० हजार डाउन पेमेन्ट भिएक्सआई भेरियन्टको हो । यसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीले विक्री गर्ने स्वीफ्टको जेडएक्सआई भेरियन्टको मूल्य ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
अहिले नेपालमा विक्री भइरहेको स्वीफ्टको फेसलिफ्ट मोडल हो । पहिलेको भन्दा बढी पावरफुल स्वीफ्ट फेसलिफ्टको अगाडिको ग्रिलमा परिमार्जन देख्न सकिन्छ । नयाँ ग्रिलमा लामो सिधा क्रोम फिनिसिङ दिइएको छ । एलइडी प्रोजेक्टर हेडल्याम्पको साथमा दिइएको डे टाइम रनिङ लाइट, १५ इन्चको अलोय ह्वील र ड्यूल टोन कलर अप्सनसमेत नयाँ स्वीफ्टमा पाउन सकिन्छ ।

स्वीफ्टको इन्ट्रुमेन्ट क्लष्टर पनि परिमार्जन गरिएको छ । यसमा ४.२ इन्चको कलर टिएफटी डिस्प्ले पाउन सकिन्छ । पहिलाको मोनोक्रोम यूनिटको तुलनमा टिएफटी डिस्प्ले निकै उत्कृष्ट देखिन्छ । ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पहिलेभन्दा राम्रो सिट क्वालिटी, क्रुज कन्ट्रोल, नयाँ पार्किङ क्यामेरा, स्टेरिङ माउन्ट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, इन्जिन स्टार्ट/स्टप बटम, अटो क्लाइमेट कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेका छन् ।
सुरक्षाको लागि कारमा दुई एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम (इएसपी) दिइएको छ । यस प्रोग्रामको साथमा हिल होल्ड एसिस्ट प्रदान गरिएको छ । एबीएस, इबीडी, आइएसओ फिक्स चाइल्ड सिट पाउन सकिन्छ ।

