काठमाडौं । एमजी (मोरिश ग्यारेज) को आधिकारीक वितरक पारामाउन्ट मोटर्सले पूर्व पश्चिम राजमार्गको हरेक २०० किलोमिटरमा एउटा ३० किलोवाट क्षमताको फास्ट चार्जर लगाउने भएको छ ।
कम्पनीले लगाउने चार्जरको दुई यूनिट स्याम्पल अर्को हप्ता काठमाडौं आउने पारामाउन्ट मोटर्स स्रोतले मेरोअटोलाई जानकारी दियो ।
‘सुरुमा आउने दुई यूनिट काठमाडौंको नक्साल शोरुम र एउटा हाइवे नाकामा जडान गर्छौ । त्यसपछि २० यूनिट आयात गर्न लागेका छौं । त्यसलाई विर्तामोडदेखि नेपालगञ्जसम्मको दुरीमा पायक पर्नेगरी जडान गर्ने योजना बनाएका छौं’, कम्पनीका महाप्रबन्धक सचिन अर्यालले भने ।
कम्पनीले लगाउन लागेको चार्जर ५० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्नेछ । त्यसले एमजीका गाडी हाइवेमा लियर यात्रा गर्ने ग्राहकले कुनै समस्या भोग्नु नपर्ने कम्पनीको दावी छ ।
एमजी नेपालमा सवैभन्दा धेरै विद्युतीय गाडी विक्री गर्ने कम्पनी हो । अहिले इजेडएस ग्राहकको पहिलो रोजाईमा पर्ने एसयूभी भएकाले बाटोमा गाडीको संख्या बढेसँगै चार्जिङ पूर्वाधार निर्माणमा कम्पनी आक्रमकरुपमा अगाडि बढ्न खोजेको देखिन्छ ।
एमजीले नयाँ एमजी ५ इलेक्ट्रीक क्रसओभर पनि चाँडै बजारमा ल्याउन लागेको छ । अहिले देशको विभिन्न स्थानमा टाटाले जडान गरेको ३० किलोवाटको चार्जर र एमजीले लगाउन लागेको चार्जर एउटै हो ।

