तीन इलेक्ट्रीक कारसहित बजारमा थप तरङ्ग ल्याउने तयारीमा एमजी

काठमाडौं । करिब १०० वर्ष पुरानो यूरोपियन ब्राण्ड मोरिस ग्यारेज (एमजी) लाई चिनियाँ कम्पनी एसएआइसी ग्रुपले खरिद गरेसँगै ब्राण्डले तिब्र गतिमा सफलता पाइरहेको छ । सन् २०१८ मा कम्पनीले विद्युतीय एसयूभीको कन्सेप्ट सार्वजनिक गरेसँगै विद्युतीय कारको उत्पादनमा आक्रमक बनेको कम्पनीले नयाँ क्रसओभर एमजी ४ ल्याउने भएसँगै चर्चा पनि चुलिदै गएको छ ।

अहिले एमजी ब्राण्डमा कम्पनीले जेडएस इभी र एमजी ५ मोडल उत्पादन र विक्री गर्दै आएको छ । अबको दुई महिना भित्रै कम्पनीले नयाँ क्रसओभर मोडल एमजी फोर बजारमा उतार्ने तयारीलाई अन्तिम बनाएको छ । कम्पनीले नयाँ एमजी फोरको टिजरहरु सार्वजनिक गर्न थालेसँगै यस्तो अनुमान गरिएको हो । नयाँ गाडीसँगै उमजीले तीन विद्युतीय मोडलको सहयोगमा विद्युतीय कार बजारमा नयाँ तरङ्ग ल्याउने अनुमान गर्न सकिन्छ ।

एमजी फाेरकाे अनुमानित तस्विर

एमजीले आफ्नो पहिलो एसयूभी जेडएसको फेसलिफ्ट मोडल पनि नेपालमा सार्वजनिक गरिसकेको छ । पहिलोको तुलनामा ब्याट्री साइज बढाएर ल्याएको जेडएस इभी अब धेरै रेन्ज दिने भएको छ । साथै, कम्पनीले एमजी ५ पनि चाँडै नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले ल्याउने एमजी फोरको ब्याट्री, मोटर, रेन्ज र फिचरको विषयमा धेरै कुरा बाहिर नआएको भएपनि यसलाई जेडएसभन्दा कम मूल्यमा बजारमा उतार्ने अनुमान भने गर्न सकिन्छ । विभिन्न रिपोर्टलाई आधार मान्ने हो भने नयाँ एमजी फोरमा ४० देखि ४५ किलोवाट आवरको ब्याट्री रहने छ, भने ३५० किलोमिटर हारहारी रेन्ज रहने छ ।

एमजीले नयाँ मोडलको विक्री यही २०२२ को अन्तिम क्वाटरबाट सुरु गर्ने अनुमान गर्न सकिन्छ । जसरी एमजीका विद्युतीय गाडी नेपाली बजारमा लोकप्रिय हुँदै गएका छन्, त्यसले एमजी फोर पनि चाँडै नेपाल आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top