नेक्सन इभीको कुन भेरियन्ट किन्दा ठिक ? यस्तो छ हाम्रो सिफारीस

काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन इभीको तीन भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी भेरियन्ट बजारमा उपलब्ध गराएको छ ।

यी तीन भेरियन्टमा उपलब्ध ब्याट्री, मोटर र वायरिङ समान रहेको छ भने रेन्ज पनि समान पाउन सकिन्छ । यी गाडीमा दिइएको फिचर मात्रै फरक रहेका छन् । नेपाल उपलब्ध तीन वटै भेरियन्टमा प्रोजेक्टर हेडल्याम्प, ट्राइ-यरो सिग्नेचर एलइडी टेलल्याम्प पाउन सकिन्छ भने एक्सजेड र एक्सजेड प्लस लग्जरी भेरियन्टमा १६ इन्चको अलोय ह्वील, बडी कलर डोर ह्याण्डल, सार्क फिन एन्टेना पाउन सकिन्छ । एक्सएममा भने कभर सहितको १६ इन्चको स्टील ह्वील छ ।

लग्जरी भेरियन्टमा सनरुफ, लेदर सीटकभर अटो हेडल्याम्प र रेन सेन्सिङ वाइपर दिइएको छ । जुन एक्सजेड प्लस र एक्सएम भेरियन्टमा छैन । एक्सएम भेरियन्टमा रियर एसी भेन्ट, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, हाइट एड्जस्ट गर्न मिल्ने सिट बेल्ट, एड्जस्ट गर्न मिल्ने हेड रेष्ट, अटो फोल्ड ओआरभीएम, फास्ट यूएसबी चार्जिङ पोर्ट, रियर वाइपर, बुट ल्याम्प जस्ता फिचर पाउन सकिदैन । तर, यी सबै फिचर जेडएक्स प्लस र लग्जरी भेरियन्टमा उपलब्ध छन् ।

इन्टेरियर पनि एक्सएमको केही कम जोर रहेको छ भने, जेडएक्स प्लस र लग्जरी भेरियन्टको उस्तै छ । एक्सएममा लेदर र्याप स्टेरिङ ह्वील, डोर ट्रिम इन्सर्ट र ग्रान्ड सेन्ट्रल कन्सोलको साथ आमरेष्ट दिइएको छैन । जुन जेडएक्स प्लस र लग्जरी दुबै भेरियन्टमा उपलब्ध रहेको छ । एक्सएममा फेब्रिक सिट रहेको छ भने अन्य दुई भेरियन्टमा प्रिमियम लेदर सिट पाउन सकिन्छ ।

एक्सएममा इन्फोटेन्टमेन्ट सिस्टम छैन भने ४ वटा मात्रै स्पीकर दिइएको छ । जबकी अन्य दुबै भेरियन्टमा इन्फोटेन्टमेन्ट सिस्टम र ८ वटा हर्मनको स्पीकर पाउन सकिन्छ । इन्ट्रुमेन्ट क्लष्टर भने सबै भेरियन्टमा समान ७ इन्चको टिएफटी डिस्प्ले दिइएको छ ।

सेफ्टीमा लगभग तीनवटै भेरियन्ट उस्तै छ । यद्यपि अगाडि फगल्याम्प, रियर डिफगर र रिभर्स पार्किङ क्यामेरा भने एक्सएम भेरियन्टमा छैन । तर रियर पार्किङ सेन्सर भने उपलब्ध छ । एक्सजेड प्लस र लग्जरी भेरियन्टमा सबै समान फिचर रहेका छन् ।

हाम्रो सिफारीस

हामीले यसलाई सिफारीस गर्नु अघि यसको मूल्यको विषयमा भन्नु उपयुक्त हुन्छ । कम्पनीले एक्सएम भेरियन्टको ३६ लाख ९९ हजार, एक्सजेड प्लसको ३८ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । यी सबै भेरियन्टको मूल्यमा २ लाख रुपैयाँको फरक रहेको छ ।

सनरुफ,लेदर सीट कभर, अटो हेडल्याम्प र रेन सेन्सिङ वाइपर बाहेक सम्पूर्ण फिचर समान रहेको एक्सजेड प्लस भेरियन्ट किन्नु उपयुक्त हुने हाम्रो ठम्बाई छ । यी तीन वटै फिचर नेपाली सडकमा उच्च पर्फमेन्सको लागि उपयोगी होइनन् । यी फिचर मध्ये सनरुफ बाहेकका दुई हेडल्याम्प र वाइपर म्यानुयल ह्याण्डलिङ गर्न नै सजिलो हुन्छ । सीट कभर पनि सजिलै  कम पैसामा मार्केटमा खरिद गर्न सकिन्छ । त्यसैले नेक्सनको तीन भेरियन्टमा सबैभन्दा उत्तम छनोट एक्सजेड प्लस हुन्छ । जसले तपाईको २ लाख रुपैयाँ पनि बचाउने छ ।

 


Back_to_top