नयाँ डिजाइन र धेरै रेञ्जसहित आउँदै ‘एमजी इजेडएस’

काठमाडौं । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी एमजी इजेडएसको फेसलिफ्ट मोडल आउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु भइसकेको फेसलिफ्ट इजेडएस अबको दुई महिना भित्रै नेपाल आउने अनुमान गरिएको छ ।

एमजीले आफ्नो सफल इलेक्ट्रीक एसयूभीमा फेसलिफ्ट मात्र गरेको छैन । यसको व्याट्री र मोटरमा पनि परिवर्तन गरेको छ । यसअघि ग्राहकले ४४.५ किलोवाट आवर क्षमताको एक मात्रै व्याट्री अप्सन उपलब्ध इजेडएसमा अब भने दुई व्याट्री अप्सन पाउने छन् ।

पहिलेको भन्दा ठूलो साइजमा व्याट्री दिइएको छ । यसको सुरुवाती मोडलमा ५१ किलोवाट आवर र ठूलो साइजमा ७२ किलोवाट आवरको व्याट्री उपलब्ध हुनेछ । फेसलिफ्ट मोडलमा अगाडिको फेसिकादेखि अलोय ह्वीलसम्म व्यापक परिवर्तन गरिएको छ ।

रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई-स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा दिइएको छ । कम्पनीले यसको क्याविन र ड्यासबोर्डमा भने परिवर्तन गरेको छैन ।

यसमा दिइएको ५१ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ३४० किलोमिटर र ७२ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने बताइएको छ ।


Back_to_top