ब्रिटिश निर्माता कम्पनी एमजी मोटरले भारतीय बजारमा नयाँ प्रिमियम एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले हालै यसको एउटा टिजर भिडियो सार्वजनिक गरेको छ ।
कम्पनीकाअनुसार भारतीय बजारका लागि यो नै कम्पनीको पहिलो उत्पादन हो । कम्पनीले यस एसयूभीको नाम ‘एमजी हेक्टर’ राखेको छ । ‘बाओजुन–५३०’ मा आधारित यस गाडी चीनमा भने यसअघि नै बिक्री भैरहेको छ ।
कम्पनीले एमजी हेक्टरमा १.५ लिटर पेट्रेल इन्जिन दिएको छ । जसले १६८ एचपी र २५० एनएम–टर्क जेनेरेट गर्छ । यसमा सेभेन–स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
टिजर भिडियोमा देखाइएअनुसार कम्पनीले यस प्रिमियम एसयूभीलाई चिसो वातावरण भएको स्थानमा परीक्षण गरेको छ ।
प्रिमियम फिचर प्याकमा आएको यस गाडीमा कम्पनीले स्पेशल केविन दिएको छ । कम्पनीले भारत, चीन र बेलायती इन्जिनियरहरूमार्फत् हेक्टरको डिजाइन गरेको हो ।
कम्पनीले अहिले भारतमा वार्षिक ८० हजार युनिट कार उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरेको छ । निकट भविष्यमा यसको उत्पादन क्षमता बढाएर २ लाख युनिट प्रतिवर्ष पुर्याउने योजना रहेको जनाएको छ ।
कम्पनीले भारतको गुजरातमा स्थापना गरेको प्लान्टबाट यो गाडीको उत्पादन गरेको हो । कम्पनीले यस गाडीलाई यसै वर्ष (२०१९) को मध्यतिर बजारमा सार्वजनिक गर्ने जनाएको छ । बजारमा यसले होन्डा सीआर–भीसँग प्रतिस्पर्धा गर्नेछ । भारतीय बजारमा कम्पनीले ४५ शोरुम तथा १०० टच–पोन्टबाट यसको बिक्री गर्नेछ ।
त्यस्तै, सन् २०२० मा कम्पनीले आफ्नो दोस्रो उत्पादनको रुपमा इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्ने योजना बनाएको छ । यस गाडी ईजेडएसमा आधारित हुनेछ ।
जसलाई कम्पनीले चीनको ग्वान्जाओमा सम्पन्न मोटर शो २०१८ मा सार्वजनिक गरेको थियो । यसमा ११० किलोवाटको इलेक्ट्रीक मोटर इन्जिन दिइनेछ । जसले सिङ्गल चार्जमा ३३५ किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ ।


