पुनः नेपाल आउँदै ‘एमजी जेडएस ईभी’, यस्तो हुनेछ नयाँ मोटर

काठमाडौं । मोरिस ग्यारेको सर्वाधिक सफल एसयूभी जेडएस ईभी नेपाल आउने भएको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएको फेसलिफ्ट जेडएस त्यसपछि एक यूनिट पनि नेपाल आएको थिएन ।

जेठ अन्तिम र असारमा ग्राहकलाई डेलिभरी दिनेगरी एमजीले जेडएस ईभीको बुकिङ खुला गरेको थियो । कम्पनीले दुई ब्याट्री अप्सनमा जेडएस ईभी नेपालमा उपलब्ध गराउने भन्दै बुकिङ खुला गरेको थियो । दुई दिनमा ५०० यूनिट जेडएस ईभी बुकिङ भएसँगै कम्पनीले बुकिङ बन्द गरेको थियो ।

सरकारले १०० किलोवाट माथिका मोटर जडान भएको विद्युतीय गाडीमा कर वृद्धि गरेसँगै एमजीले बुकिङ गरेर बसेका ग्राहकलाई रकम फिर्ता गरेको थियो । सुरूमा १५ प्रतिशत भन्सार मात्रै लागेको गाडीमा सरकारले ३० प्रतिशत भन्सार र ३० प्रतिशत नै अन्तःशुल्क लगाएपछि गाडी आयात रोकिएको थियो ।

सुरूआती स्ट्याण्डर्ड भेरियन्टको मूल्य ५१ लाख ९९ हजार र लङ रेन्ज भर्सनको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिइएको थियो । यो मूल्यमा एक यूनिट पनि गाडी डिलिभरी हुन पाएन ।

गाडी सार्वजनिक गरेको करिब १० महिनापछि एमजीले लङ रेन्ज मोडलको ८१ लाख ९९ हजार मूल्य तोकेर बुकिङ खुला गरेको हो । अहिले केही यूनिट गाडीको बुकिङ रहेको भन्दै कम्पनीले लङ रेन्ज मोडल नेपाल ल्याइरहेको छ । त्यसले एक वर्ष पूरा रोकिएको एमजी जेडएस ईभीको आयात पुनः सुरू भएको छ ।

आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले अबको केही हप्ता भित्रै जेडएस ईभीको स्ट्याण्डर्ड मोडलको बुकिङ खुला गर्ने तयारी थालेको छ । कम्पनीले ल्याउने स्ट्याण्डर्ड मोडलको जेडएस ईभीमा ९५ किलोवाट क्षमताको मोटर रहने अनुमान गरिएको छ । यसमा ब्याट्री भने ५१ किलोवाट आवरको रहने छ ।

कम्पनीले नयाँ मोटरको साथै रेगुलर मोटरमा पनि लङ रेन्ज मोडल भने उपलब्ध गराउँदै जाने बताएको छ । यसको मूल्य लगायतका अन्य टेक्निकल डिटेलको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

नयाँ जेडएस आएसँगै यसको सीधा प्रतिस्पर्धा हुने कुनै पनि मोडल हुने छैन । टाटा नेक्सन ईभीभन्दा महंगो र हुन्डाई कोना तथा बीवाइडी एटो थ्रीभन्दा सस्तो मूल्य रहने भएको कारण यसले अलग सेग्मेन्टमा बलियो उपस्थिति जनाउने सहजै अनुमान गर्न सकिन्छ । एमजी जेडएस नयाँ मोडलको मूल्य ५२ लाख आसपासमै मूल्य कायम हुने अनुमान गर्न सकिन्छ ।

 


Back_to_top