काठमाडौं । भारतीय एसयूभी एक्स्पर्ट महिन्द्रा एण्ड महिन्द्राले सन् २०२३ मा दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले महिन्द्रा बोलेरो नियो प्लस र फाइभ डोर महिन्द्रा थार सार्वजनिक गर्ने तयारी गरेको हो ।
सन् २०२३ को सुरुवातमा मै एक्सयूभी ४०० इलेक्ट्रीक बजारमा ल्याएको महिन्द्राले थप दुई मोडलसँगै आफ्नो एसयूभी लाइनअपमा बलियो उपस्थिति जनाउने देखिएको हो ।
कम्पनीले अब ल्याउने भनिएको एसयूभीहरु यसअघि बजारमा उपलब्ध थार र बलेरो नियोमा आधारित रहने भएपनि साइज र फिचरमा भने फरक रहने अनुमान गर्न सकिन्छ ।
महिन्द्रा बोलेरो नियो प्लस
भारतका विभिन्न सडकमा परिक्षण चलिरहेको बोलेरो नियो प्लस सन् २०२३ को मध्यसम्ममा बजारमा आउने छ । निकै सार्प एक्स्टेरियरको साथमा आउने अनुमान गरिएको नियो प्लसमा १५ इन्चको अलोय ह्वील, क्रोम आउट फ्रन्ट ग्रिल, अग्लो पिलर पाउन सकिन्छ ।
बोलेरो नियोको तुलनामा यसको पछाडिको भाग फरक बनाइएको छ । पहिलेको तुलनामा आकर्षक फिचर रहेको नियो प्लसमा रि–डिजाइन गरिएको ब्याक लाइट र बम्पर पाउन सकिन्छ ।
कम्पनीले यो गाडी विभिन्न ५ भेरियन्टमा ल्याउने जनाएको छ । यसमा सात र ९ सिट क्षमता रहने छ । यसको इन्टेरियर भने बोलेरो नियोसँग मिल्दो जुल्दो रहने अनुमान गर्न सकिन्छ ।
महिन्द्रा बोलेरो नियो प्लसमा १.५ लिटर डिजेल इन्जिन रहने छ । उक्त इन्जिनले १०० हर्सपावर प्रदान गर्छ । यो फाइभ स्पीड म्यानुअल गियरबक्स उपलब्ध हुनेछ ।
फाइभ डोर महिन्द्रा थार

महिन्द्राले ५ ढोका भएको थार सन् २०२४ को सुरुवातमा बजारमा ल्याउने अनुमान गरिएको छ । कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा यसलाई बजारमा देखाउने छ । यसमा २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर टर्बो डिजेल इन्जिन अप्सनहरु दिइएको हुनेछ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन अप्सन दिइएको छ ।
यो गाडीको ह्वीलबेस ३०० एमएम हुने बताइएको छ । यसको एक्सटेरियर भने धेरै मात्रामा थ्री–डोर थार मोडलसँग मिल्दोजुल्दो हुनेछ ।

