जेडएस र कोना इलेक्ट्रीक बीच कडा टक्कर, यस्ता छन् तुलनात्मक भिन्नता

काठमाडौं । हुन्डाईले कोना इलेक्ट्रीक नेपालमा विक्री सुरू गरेको ४ वर्ष पुग्न लागिसकेको छ । कम्पनीले सन् २०१८ देखि कोना ईभी नेपालमा उपलब्ध गराएको हो ।

कोनालाई टक्कर दिने गरी एमजीले पनि नेपाली बजारमा जेडएस ईभी सन् २०१९ मा उतारेको हो । कम्पनीले मोरिस ग्यारेजको जेडएस ईभीले संख्यात्मक हिसाबले कोनालाई उछिन्यो । तर, सप्लाइमा भने एमजीले धेरै समस्या भोग्दै आएको देखिन्छ । एक दुई लटमा राम्रै संख्यामा गाडी आउने र त्यसपछि लामो समय गाडी आयात नहुँदा सोचेको संख्यामा विक्री गर्न पाएको छैन ।

तर, त्यसको ठीक उल्टो हुन्डाईको सप्लाइ निरन्तर छ । निरन्तर सप्लाइ भए पनि संख्यामा अत्यन्त न्यून मात्रामा गाडी दिइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । कम्पनीले मागे अनुसारको गाडी पाउन नसके पनि थोरै संख्या तर निरन्तर गाडी पाइरहेको आयात तथ्यांकले पनि देखाएको छ ।

यस्तोमा यी दुवै सफल मोडलमा रहेका फिचरलाई हामीले यहाँ चर्चा गरेका छौं ।

ब्याट्री र मोटर

एमजीले आफ्नो फेसलिफ्ट मोडलमा ५१ र ७२ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन दिएको छ । यी दुईको रेन्जमा करिब १२० किलोमिटर फरक पाउन सकिन्छ । डब्लूएलटीपीको अनुसार सानो ब्याट्रीले ३१९ र ठूलो ब्याट्रीले ४४० किलोमिटरसम्म रेन्ज दिनेछ ।

हुन्डाईले कोनामा तुलनात्मक रूपमा सानो ब्याट्री दिएको छ । कम्पनीले फेसलिफ्ट कोनामा पनि ३९.२ किलोवाट आवरको ब्याट्री दिएको हो । यसको रेन्ज भने डब्लूएलटीपीले ३०५ किलोमिटर प्रमाणित गरेको छ ।

एमजीको दुवै भेरियन्टमा अलग अलग मोटर दिइएको छ । सानो ब्याट्रीमा १३० किलोवाट र ठूलो ब्याट्रीमा १०५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । हुन्डाई कोनामा भने १०० किलोवाट क्षमताको मोटर रहेको छ ।

साइज र ग्राउन्ड क्लियरेन्स

ग्राउन्ड क्यिरेन्समा एमजी जेडएस अगाडि छ । यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ भने हुन्डाई कोनामा १६० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

लम्बाइ, चौडाइ र उचाइमा पनि जेडएस ईभी अगाडि छ । जेडएसको लम्बाइ ४३२३ एमएम, चौडाइ १८०९ एमएम र उचाइ १६४९ एमएम रहेको छ । त्यही कोनाको लम्बाइ ४१८० एमएम, चौडाइ १८०० एमएम र उचाइ १५७० एमएम रहेका छ । ह्वील वेसमा भने कोना अगाडि छ । कोनामा २६०० एमएमको ह्वीलवेस रहँदा जेडएसमा २५८१ एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

सस्पेन्सन, ब्रेकिङ र टायर

दुवै एसयूभीमा अगाडि म्याकर्फेसन स्टार्ट टाइप र पछाडि भने फरक सस्पेन्सन पाउन सकिन्छ । पछाडि भने एमजीले जेडएसमा टोर्सन बीम र हुन्डाईले कोनामा मल्टी लिंक सस्पेन्सन दिएका छन् ।

दुवै कारको चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ । एमजी जेडएसको टर्निङ रेडियस ५.६ मिटर रहेको छ भने कोनाको ५.३ मिटर रहेको छ । दुवै कारमा पावर एसिस्ट स्टेरिङ, अलोय ह्वील, १७ इन्चको टायर पाउन सकिन्छ ।

सुरक्षा फिचर

यूरोपियन एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएका दुवै कार सुरक्षीत रहेका छन् । दुवै गाडीले ८० किलोमिटर प्रतिण्टाको रफ्तार भेट्दा चालकलाई वार्निङ बीप दिन्छ भने १२० किलोमिटर भन्दा माथि पुगेपछि निरन्तर सजग गराउँछ ।

आपतकालीन ब्रेक लाइट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटर जस्ता फिचर समान भए पनि एमजीमा ब्लाइन्ड स्पर्ट मोनिटर र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता अतिरिक्त फिचर पाउन सकिन्छ ।

अन्य फिचर

विशेषतः आरामदायी र सहज यात्राको लागि गाडी उत्पादकले थुप्रै फिचर दिन थालेका छन् । दुवै कारमा अटोमेटीक एसी, पार्किङ सेन्सर, रिभर्स क्यामेरा, क्रुज कन्ट्रोल, किलेस स्टार्ट, ६ वटासम्म स्पीकर, टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेरिङ माउन्ट कन्ट्रोल, वायरलेस चार्जर पाउन सकिन्छ ।

एमजीले जेडएस ईभीमा ३६० डिग्री क्यामेरा दिएको छ भने हुन्डाईले यो फिचर दिएको छैन । हुन्डाईले कोनामा चालकको आवश्यकता अनुसार तल, माथि, अगाडि र पछाडि मिलाउन मिल्ने स्टेरिङ दिएको छ भने जेडएसमा तल र माथि मात्रै एड्जस्ट गर्न मिल्ने स्टेरिङ दिएको छ । दुवै कारमा सनरुफ पाउन सकिन्छ । प्याडल सिफ्टर जस्तो फिचर कोनामा प्रयोग भएको छ भने एमजीमा यो फिचर छैन ।

मूल्य

दुवै गाडी फेसलिफ्ट भएर आएका छन् । हुन्डाईले करिब ३ महिना अघिबाटै फेसलिफ्ट कोना ईभी विक्री गर्दै आएको छ । एमजीले भने डेढ महिना अघि मात्रै फेसलिफ्ट जेडएस ईभी नेपालमा सार्वजनिक गरेको हो । सार्वजनिक गरेको भए पनि अहिलेसम्म यसको विक्री भने सुरू हुन पाएको छैन ।

हुन्डाईले कोनालाई दुई भेरियन्टमा उपलब्ध गराएको छ । कोना जीएल भेरियन्टको मूल्य ५७ लाख ९६ हजार र जीएसएस भेरियन्टको मूल्य ६० लाख ९६ हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ ।

एमजीले भने ब्याट्री क्षमताको आधारमा गाडीको मूल्य तोकेको छ । एमजीको ५१ किलोवाट आवर क्षमताको ब्याट्री भएको भेरियन्टको मूल्य ५१ लाख ९९ हजार र ७२ किलोवाट आवर क्षमताको भेरियन्टको ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अन्त्यमा, यी दुवै गाडी आफ्नो हिसाबले निकै बलियो र फिचर लोडेड गाडी हुन् । दुवै मोडलको अन्तर्राष्ट्रिय बजारमा आइसी र ईभी इन्जिन उपलब्ध छ । नेपालमा पनि एमजीले दुवै अप्सन विक्री गर्दै आएको छ । हुन्डाईले भने ईभी मात्रै विक्री गर्दै आएको छ ।

कोरियन ब्राण्डको नेपालमा बलियो नेटवर्क र सर्भिस उपलब्ध रहेको छ भने एमजीको नेटवर्क विस्तार चलिरहेको छ । त्यसैले फरक र पृथक डिजाइनमा तयार भएका यी दुवै ईभी नेपालमा सफलता चुमिरहेका छन् ।

 


Back_to_top