काठमाडौं । मोरिस ग्यारेज (एमजी) आक्रमक बजार विस्तारको रणनीति सहित काम गरिरहेको कम्पनी हो । बेलायती ब्राण्डलाई चिनियाँ कम्पनी एसएआइसी ग्रुपले खरिद गरेसँगै नयाँ नयाँ मोडल बजारमा ल्याएर एमजीले आक्रमक बजार विस्तार गरिरहेको छ ।
विशेषत जेडएस इभीको विक्रीबाट हौसिएको एमजीले नयाँ मोडल एमजी फोर आगामी महिना सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले एमजी फोरपछि एमजी ‘साइबरस्टर’ इलेक्ट्रीक कार बजारमा ल्याउने अनुमान गरिएको छ ।
एमजीले अघिल्लो वर्ष आयोजना भएको संघाई मोटर शोमा साइबरस्टरको कन्सेप्ट सार्वजनिक गरेको थियो । अब यही महिना चीनको बेजिङमा आयोजना हुने मोटर शोमा यसको थप परिस्कृत डिजाइन प्रदर्शनी हुने अनुमान गरिएको छ ।
‘बेस्पोक इभी आर्किटेक्चर’मा तयार भएको साइबरस्टर मोडलले एक पटकको फुल चार्जमा ८०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड केबल ३ सेकेन्डमा भेट्टाउने छ ।
स्पोर्टस् कारको रुपमा बजारमा आउने साइबरस्टर ठूलो कमर्शियल योजना सहित बजारमा आउने विषयमा भने शंका गर्ने ठाँउ छ । यद्यपि एमजीले आफ्नो क्षमता र ब्राण्डको मूल्य बढाउन नयाँ खोज र अन्भेषण भने जारी राख्ने देखिन्छ ।
यस्तो छ एमजीको १५ वर्ष
सन् २००७ बाट चिनियाँ कम्पनी एसएआइसीले उत्पादन सुरु गरेको एमजीका कार अहिले चीनमा वार्षिक ५ लाख हाराहारी यूनिट विक्री हुन थालेका छन् । सन् २०२१ मा चीन बाहेकको देशमा करिब १ लाख ५० हजार यूनिट हाराहारी गाडी विक्री भएको थियो । चीनपछि एमजीको सबैभन्दा ठूलो बजार भारत, बेलायत, थाइल्याण्ड जस्ता राइट ह्याण्ड ड्राइभ सिस्टम भएका देश हुन् । यूरोपका करिब दुई दर्जन देशमा एमजी प्रबेश गरिसकेको छ ।

सन् २००७ मा ३ हजार १३१ यूनिटबाट सुरु भएको एमजीको यात्रा अहिले वार्षिक करिब ७ लाख युनिटमा पुगेको हो । सन् २०१७ बाट मात्रै एमजीले वार्षिक एक लाख यूनिटको विक्री आँकडा भेट्टाएको थियो ।

