टोयोटा हाइराइडरको विक्री यूरोपियन टाइगुन र कुशकभन्दा धेरै

काठमाडौं । टोयोटा हाइराइडर कम्प्याक्ट एसयूभीले पहिलो महिना नै निकै राम्रो विक्री पाएको छ । भारतमा गत महिनाबाट विक्री सुरु भएको हाइराइडरले अक्टोबर महिनामा ३ हजार ३८४ जना ग्राहक पाएको थियो ।

भारतीय कार उत्पादकहरुले सार्वजनिक गरेको तथ्यांकमा टोयोटा हाइराइडरले दुई यूरोपियन ब्राण्ड स्कोडा र फक्सवागेनको कम्प्याक्ट एसयूभीहरुलाई उछिनेको हो । अक्टोबर महिनाको विक्री तथ्यांक अनुसार भारतमा फक्सवागेन टाइगुन २ हजार ३५५ यूनिट विक्री हुँदा स्कोडा कुशक १ हजार ६९१ यूनिट मात्रै विक्री भएको हो ।

अक्टोबरको विक्रीमा स्कोडा कुशकलाई एमजीको एस्टर एसयूभीले उछिनेको तथ्यांकले देखाएको छ । अक्टोबर महिनामा भारतभर एस्टर एसयूभी १ हजार ७७४ यूनिट विक्री भएको थियो । यही सेग्मेन्टमा विक्री हुने एसयूभी मध्ये सबैभन्दा कमजोर मोडल निसान किक्स हो । किक्सको विक्री २४२ यूनिट मात्रै भएको थियो ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्वाधिक विक्री भएको मोडल भने हुन्डाई क्रेटा हो । अक्टोबरमा क्रेटा ११ हजार ८८० यूनिट विक्री हुँदा दोस्रो स्थानमा रहेको किया सेल्टोस ९ हजार ७७७ यूनिट विक्री भएको थियो । अघिल्लो महिनाबाट विक्री सुरु भएको मारुती सुजुकी ग्राण्ड भिटारा ८ हजार ५२ यूनिट सहित तेस्रो स्थानमा रहन सफल भएको थियो ।

नेपाली बजारमा पनि कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, स्कोडा कुशक, फक्सवागेन टाइगुन जस्ता मोडल विक्री हुँदै आएका छन् । अहिले आयात प्रतिबन्ध भएको कारण मारुती सुजुकी ग्राण्ड भिटाराको लागि थप केही समय कुर्नु पर्ने हुन्छ । तर, टोयोटा हाइराइडर भने तत्काल नेपाल आउने छैन ।


Back_to_top