माइलेज र पावरको उत्कृष्ट ‘कम्बिनेशन’ भएका ४ मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । पेट्रोलको मूल्यले २०० रुपैयाँ प्रतिलिटरको आँकडा पार गर्न तयार भएको छ । यस्तो अवस्थामा आवतजावतको सबैभन्दा अत्यावश्यक साधन मोटरसइकल चढ्नै नसकिने अवस्था आएको छ ।

नेपालको भौगोलिक बनाटका आधारमा हेर्दा १०० सीसीका मोटरसाइकल सबै भुभागमा संचलान गर्न सकिदैन । सबैभन्दा धेरै माइलेज दिने मोटरसाइकल १०० सीसी सेग्मेन्टमा नै पर्छन् । तर, १०० सीसी क्षमताका मोटरसाइकलको विकल्पमा भने १२५ सीसी क्षमताका मोटरसाइकल धेरै स्थानमा प्रयोग गर्न सकिन्छ ।

१०० सीसीका मोटरसाइकलमा पावर केही कम हुने र १५० सीसी क्षमताका मोटरसाइकलको उच्च मूल्यका कारण १२५ सीसी सेग्मेन्ट माइलेज र पावर दुबैका लागि उपयुक्त मान्ने गरिन्छ । १२५ सीसी क्षमताका मोटरसाइकल पावरका हिसावले १५० सीसी सेग्मेन्टभन्दा केही मात्र कम हुन्छन् भने माइलेज धेरै दिन्छन् । यस्तोमा १५० सीसी र १०० सीसी क्षमताका मोटरसाइकहरुको विकल्पका रुपमा उत्कृष्ट माइलेज भएको चार मोटरसाइकल हामीले यहाँ सिफारिस गरेका छौं ।

होन्डा सिबी साइन

होन्डाको चर्चित मोटरसाइकल मध्येको एक सिबी साइन नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोटरसाइकल हो । यसमा कम्पनीले १२४.७ सीसी क्षमताको इन्जिन दिएको छ ।

यसमा दिइएको इन्जिनले ७५०० आरपीएममा अधिकता १०.५६ बीएच पावर प्रदान गर्ने छ भने ५५०० आरपीएममा १०.३० एनएम टर्क प्रदान गर्छ । यसमा १०.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।

सिबी साइन मोटरसाइकलले ६५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी भएता पनि सडकमा संचालन गर्दा ५० देखि ५५ किलोमिटरसम्म माइलेज पाउन सकिन्छ । होन्डाले साइन मोटरसाइकललाई आरामदायी बनाउन अगाडि टेलिस्कोपिक र पछाडि स्पीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ । स्याकार कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको होन्डा सिबी साइनको सुरुवाति मूल्य २ लाख ४३ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस स्ट्राइकर

टीभीएस स्ट्राइकर १२५ सीसी सेग्मेन्टमा पावर तथा राम्रो माइलेज भएको मोटरसइकलमा पर्छ । जगदम्बा मोटर्सले नेपालमा बिक्री वितरण गर्दै आएको यो मोटरसाइकलको मूल्य १ लाख ९६ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री वितरण हुँदै आएको छ ।

१२५ सीसी क्षमताको इन्जिन रहेको मोटरसाइकल उत्कृष्ट माइलेज दिने मध्यको एक हो । यसमा रहेको इन्जिनले ८००० आरपीएममा ११ बीएच पावर र ५५०० आरपीएममा १०.८ एनएम टर्क प्रदान गर्नेछ ।

टीभीएस स्ट्राइकरमा १० लिटरको इन्धन ट्याङक पाउन सकिन्छ । कम्पनीका अनुसार यो मोटरसाइकले प्रति लिटर ६० किलोमिटर माइलेज दिन्छ । चालक र सडकको अवस्था अनुसार यो मोटरसाइकल प्रतिलिटर पेट्रोलले ५० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

हिरो सुपर स्प्लेन्डर १२५

हिरोको आधिकारीक वितरक एनजीएमले नेपाली बजारमा विक्री वितरण गर्दै आएको स्प्लेन्डर विभिन्न इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १२५ सीसी क्षमताको हिरो सुपर स्प्लेन्डरमा १२४.७ सीसी क्षमताको इन्जिन दिइएको छ ।

यसमा रहेको इन्जिनले ७००० आरपीएममा ९ बीएच पावर र ४००० हजार आरपीएममा १०.३५ एनएम टर्क प्रदान गर्नेछ । यो मोटरसाइकलमा अगाडि टेलिस्कोपिक हाइड्रोलिक र पछाडि स्विङ आर्म सस्पेनसन दिइएको छ ।

हिरो सुपर स्प्लेन्डरमा १३ लिटरको इन्धन ट्याङक रहेको छ । यो मोटरसाइकलले प्रतिलिटर ६० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दावी छ । आई स्मार्ट टेक्नोलोजीयुक्त यो मोटरसाइकलको मूल्य २ लाख २० हजार रुपैयाँ रहेको छ ।

यामाहा सलुटो १२५

यामाहाको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लूले विक्री गर्ने यामाहा सलुटो १२५ धेरै माइलेज दिने १२५ सीसी मोटरसाइकलमा पर्छ । यो मोटरसाइकलमा १२४ सीसी इन्जिन रहेको छ । यो इन्जिनदे ८.३ पीएस पावर तथा १०.१ एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलमा डिस्क ब्रेक पाउन सकिन्छ भने यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन रहेको छ । यो मोटरसाइकलमा ७.६ लिटरको इन्धन ट्याङक रहेको छ । यो मोटरसाइकलले प्रति लिटर ७८ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । सडकमा यसको माइलेज ६० किलोमिटरसम्म पाउन सकिन्छ ।

यामाहा सलुटोको मूल्य २ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top