टाटाले नेपाल ल्याउँदै नयाँ इलेक्ट्रीक कार

काठमाडौं । टाटा मोटर्सको नेपालको लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले आगामी भदौ ७ गतेबाट हुने नाडा अटो शो २०२२ मा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । कम्पनीले केही दिनअघि भारतमा विक्री सुरु भएको नेक्सन म्याक्स मोडल नेपाल ल्याउन लागेको हो ।

पहिलेभन्दा ठूलो ब्याट्री, ठूलो मोटर र धेरै रेन्ज दिने बनाएर ल्याएको नेक्सन म्याक्स नाडा अटो शोमा प्रदर्शनी गर्ने तयारी कम्पनीले गरिरहेको जनाएको छ ।

‘हाम्रो ध्यान इलेक्ट्रीक कारको ब्राडिङ हो । हामीसँग अहिले रेगुलर नेक्सन र टिगोर गरेर दुई मोडल छन् । त्यसमा नेक्सन म्याक्स थप हुँदा ग्राहकले तीन अप्सन पाउने छन्’, सिप्रदी स्रोतले भन्यो ।

टाटा नेक्सन नेपालमा निकै सफल मोडल हो । यस्तोमा नयाँ आउने म्याक्सले निकै चर्चा पाउनु स्वाभाविक हो । तर, सरकारले जेठ १५ गते ल्याएको बजेटले १०० किलोवाट माथि मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाएको कारण यसको मूल्य रेगुलर नेक्सनको तुलनमा महंगो हुनेछ ।

टाटा नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री, १०५ किलोवाट क्षमताको मोटर र मल्टी रिजेनेरेटीभ मोड दिइएको छ । यसमा रहेको व्याट्रीले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यसमा ३.३ र ७.२ किलोवाट आवरको दुई चार्जर अप्सन पाउन सकिन्छ ।

नेक्सन म्याक्सलाई ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा जम्मा ६ घण्टामै फुल चार्ज हुनेछ ।

नेक्सन म्याक्समा पूरानो नेक्सन इभीमा भन्दा केही अन्य फिचरहरु समेत थप भएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि रहेका छन् ।

त्यस्तै, सुरक्षाका लागि म्याक्समा इएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रूज कन्ट्रोलको पनि सुविधा दिइएको छ ।


Back_to_top