एलसी खुल्ने पर्खाइमा ४ नयाँ मोडल

काठमाडौं । सरकारले विदेशी मुद्रा संचितिमा आएको गिरावट रोक्न भन्दै सवारीसाधनको प्रतीतपत्र (एलसी) खोल्न कडाई गरेसँगै चैतको तेस्रो साताबाट आयातकर्ताहरूले एलसी खोल्न पाएका छैनन् ।

वैशाख १४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना नै प्रकाशित गर्दै असार मसान्तसम्म सवारीसाधनको आयात रोक्ने निर्णय लिएसँगै एलसी खोल्न बन्द भएको थियो । अब सबै आयातकर्ता एलसी खुल्ने समयको प्रतिक्षा गरिरहेका छन् । तर, सरकारको डलर खर्च कटौती हुन सकिरहेको छैन ।

नाडा अटो शो २०२२ को घोषणा गरेर तयारी थालेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटर साउनदेखि एलसी कारोबार खुल्ला गरिदिन आग्रह गरेको छ । व्यवसायीहरूको आग्रहपछि मन्त्री बडुले साउन १ गतेबाट एलसी खुल्ने जानकारी दिएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले बताए।

यदि सरकारले एलसी खुल्ला गर्ने हो भने नेपाली बजारमा टाटाले पन्च, महिन्द्राले एक्सयूभी ७००, स्कोडाले स्लाभिया र हुन्डाईले फेसलिफ्ट भेन्यू नेपाल ल्याउने छन् ।

टाटा पन्च

टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ पन्च माइक्रो एसयूभी सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा एलसी रोक्न बन्द भएको थियो । भारतीय बजारमा निकै ठूलो सफलता पाइरहेको पन्च करिब २८ लाखदेखि ४० लाखसम्मको मूल्यमा आउने अपेक्षा गरिएको छ । यसको मूल्यको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

महिन्द्रा एक्सयूभी ७००

महिन्द्राको बहुचर्चित एसयूभी एक्सयूभी ७०० नेपाल ल्याउने तयारी अग्नी इनकर्पोरेट प्रालिले गरिरहेको छ । भारतमा धेरै वेटिङ पिरियड रहेको एक्सयूभी ७०० करिब ६५ लाख हाराहारी सुरूआती मूल्यबाट आउने अपेक्षा गरिएको छ । पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध हुने यो एसयूभी एलसी खुल्नासाथ नेपाल ल्याउने प्रक्रिया सुरू हुन्छ ।

स्काेडा स्लाभिया

स्कोडा स्लाभिया सेडान कार हो । कम्पनीले र्यापिडको उत्पादन बन्द गरेर यसलाई बजारमा ल्याउन लागेको हो । भारतमा निकै राम्रो विक्री भइरहेको स्लाभिया एमएडब्ल्यू स्कोडाले ‘नाडा अटो शो २०२२’मा नेपाल आउने छ । त्यसको लागि भने एसली खुल्ला हुनुपर्छ । कम्पनीले यसलाई १.० लिटर टर्बो इन्जिनमा ल्याउने छ । यसको मूल्य ४५ लाखदेखि ६० लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।

हुन्डाई भेन्यू

हुन्डाईले केही दिनअघि मात्रै भारतमा सार्वजनिक गरेको भेन्यू फेसलिफ्ट पनि नेपाल आउन तयार मोडल हो । कम्पनीले नाडा अटो शो २०२२ बाट यसको विक्री सुरू गर्ने अनुमान गर्न सकिन्छ । रेगुलर मोडलको तुलनामा फरक फ्रन्ट ग्रिल र पछाडिको भागमा व्यापक परिमार्जन सहित भेन्यू बजारमा आउने छ । यसको मूल्य पनि ३८ लाखदेखि ५८ लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top