बुकिङ गरेर कुर्नु पर्ने ४ पेट्रोल र डिजेल कार

काठमाडौं । दशैंमा गाडी किन्ने सोच तत्कालै बनाउनु भएको छ भने चल्तीका चार मोडल तपाईले दशैंअघि डेलिभरी पाउन सक्नुहुन्न । सिमित सप्लाई, विश्वजारमा देखिएको चिप्स सर्टेज र बजारमा बढेको मागको कारण दशैंअघि गाडी पाउन सक्ने अवस्था नरहेको हो ।

‘भदौ अन्तिमसम्म बुकिङ गर्ने ग्राहकलाई भने गाडी दिन प्रयास भइरहेको छ । मागमा आएको सुधार र उत्पादकले सप्लाई पुरा गर्न नसक्ने अवस्था आएकोले अहिले बुकिङ गर्ने ग्राहकलाई दशैंपछि गाडी दिने प्रयास गर्दैछौं’, एक कार विक्रेताले मेरोअटोसँग भने ।

अहिले बजारमा जीप कम्पास, म्याग्नाइट १.० नेचुरल्ली एस्पिरेडेड इन्जिन, हुन्डाई क्रेटा, रेनो काइगरको सप्लाईमा समस्या देखिएको छ । यी गाडीको अभाव हुनुमा कम उत्पादन र विक्रेताले अनुमान गरेभन्दा बढी माग गर्नु मुख्य कारण रहेको अनुमान गर्न सकिन्छ ।

क्रेटा ह्याचव्याकवाट अपग्रेड हुने धेरै ग्राहकको रोजाईमा परेको कारण नेपालमा सार्वजनिक भएदेखि नै सप्लाईमा समस्या थियो । भारतमा पनि उच्चमाग हुनु र नेपालमा पनि ‘भ्यालु फर मनी’को रुपमा ग्राहकले किन्न थालेसँगै क्रेटाको सप्लाईमा समस्या देखिएको हो ।

निसान म्याग्नाइट र रेनो काइगर कम मूल्यमा एसयूभी खोज्नेको रोजाईमा पर्दै आएको छ । अहिले काइगर १.० लिटर नेचुरल एस्पीरेटेड इन्जिन र म्याग्नाइट १.० लिटर टर्बो इन्जिनमा मात्र उपलब्ध रहेको छ । म्याग्नाइटको १.० लिटर नेचुरल एस्पीरेटेड इन्जिन अहिले पाउन सक्ने अवस्था छैन । काइगरको टर्बो इन्जिन नेपाल आएकै छैन ।

यी दुबै सब फोर मिटर एसयूभी भारतमा कम उत्पादन र उच्च माग भएका गाडी हुन् । त्यसैले यी दुबै कार नेपालमा पनि तत्काल खोज्ने ग्राहकले पाउन सक्ने अवस्था छैन ।

जीप कम्पासको विक्री पनि निकै उत्कृष्ट रहेको बुझ्न सकिन्छ । कम्पास किन्न चाहने ग्राहकले दशैंअघि डेलिभरी पाउन सक्ने अवस्था छैन । एक करोड र त्योभन्दा केही लाखबढी तिरेर गाडी खोज्ने ग्राहकलाई बजारमा धेरै छनोट नभएकोले कम्पासको माग उच्च रहेको छ । त्यसैले कम्पास किन्न चाहने ग्राहक बढेकाले यसको सप्लाईमा पनि समस्या देखिएको हो ।

यी पेट्रोल गाडीको अलावा विद्युतीय कार कोना, निरो, इजेडएस, इ६, नेक्सन जस्ता गाडी ग्राहकले अहिले बुकिङ गरेर दशैंअघि पाउने अवस्था छैन ।


Back_to_top