सफलताको स्वाद चाख्दै एफजेडएस भि थ्री, चाँडै मूल्य बढ्न सक्ने

काठमाडौं । मोटरसाइकल नेपालको सर्वाधिक धेरै मोविलिटीमा प्रयोग हुने साधन बनिसकेको छ । सहरी क्षेत्रमा हरेक घरमा औषतमा एउटा मोटरसाइकल प्रयोग भएको छ भने, पहाडी क्षेत्रमा बसोबास गर्ने मध्यम वर्गिय परिवारको मुख्य सवारी बन्दै गएको छ ।

अहिले नेपालमा करिब ४० लाखभन्दा धेरै मोटरसाइकल दर्ता भएका छन् । त्यसको करिब १० प्रतिशत मोटरसाइकल पुराना भएर स्क्र्याप भएको आँकलन गर्न सकिन्छ । यस्तोमा मोटरसाइकल बजार विस्तार अझै तिब्ररुपमा हुने अनुमान गर्न सकिन्छ ।

नेपालको बाटोको अवस्था कमजोर भएकै कारण गाडी किन्न सक्ने कमाई भएका मानिसले पनि मोटरसाइकलबाट आफ्नो काम चलाई रहेका छन् । नेपालमा सर्वाधिक विक्री हुने १५० सीसी सेग्मेन्टमा यामाहाले विक्री गर्दै आएको एफजेडएस भी थ्रि निकै चर्चित मोटरसाइकल हो ।

यामाहाले १४ वर्ष अघिदेखि नै एफजेड सिरिजमा विभिन्न मोटरसाइकल विक्री गर्दै आएको छ । युवा लक्षित डिजाइन, चलाउन सहज र फिचर लोडेड भएकै कारण एफजेडएसको पछिल्लो भर्सन भि थ्री निकै सफल भएको मानिन्छ ।

यामाहाले पहिलो पटक आम–जनमानसमा एफआई इन्जिनलाई ब्राण्डिङ गरेर ल्याएको यो मोडल बाहिरबाट हेर्दा पनि निकै आकर्षक रहेको छ । मस्कुलर बडी, सार्प प्रोफाइल, ठूलो र फराकिलो इन्धन ट्याङ्क, क्रोम फिनिसिङ सहितको फक्स एयर भेन्टले एफजेडएस भि थ्रीलाई सेग्मेन्टमा नै अलग बनाएको छ ।

निकै स्पोर्टी कम्यूटरमा कम्पनीले गर्दै आएको परिवर्तनले ग्राहकलाई लोभ्याउँदै लगेको देखिन्छ । लामो स्प्लीट सिट डिजाइन, फाराकिलो सिंगल सिट, पछाडि बस्ने यात्रुलाई दिइएको ग्राब ह्याण्डल, पुरानो भि टुको तुलनामा केही माथि उठेको ह्याण्डलवारले मोटरसाइकल चालकलाई निकै सहज र आरामदायी बनाएको छ ।

यसमा रहेको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र डार्क व्याकराउन्डमा चम्किलो अक्षरहरुका कारण निकै प्रिमियम लाग्ने एलसीडी यसमा पाउन सकिन्छ । यही एलसीडीमा स्पीडोमिटर, टेकोमिटर, ओडोमिटर र घडी जस्ता चालकलाई आवश्यक पर्ने सूचना पाउन सकिन्छ ।

झट्ट हेर्दा नै मानिसको ध्यान खिच्नसक्ने एलइडी हेडल्याम्प पाउन सकिन्छ । यसमा दिइएको हाइबीमले सेतो प्रकाश दिन्छ भने लोबीमले पहेँलो प्रकाश दिन्छ ।

एफजेडएस भि थ्रीमा १४९ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १३.२ पीएस पावर र १२.८ एनएम टर्क प्रदान गर्ने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टाको हाइवे ड्राइभलाई यो मोटरसाइकल उत्कृष्ट मानिन्छ ।

स्पीडसँगै यसको ब्रेकिङ सिस्टम पनि राम्रो हुनुपर्छ । त्यसैले यामाहाले यसको दुबै चक्कामा डिस्क ब्रेक दिएको छ भने, अगाडि सिंगल च्यानल एबीएस दिएको छ । दुबै चक्का १७ इन्चको प्रयोग गरिएको छ ।

यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले ३ लाख ३४ हजार ९०० मूल्य निर्धारण गरेर विक्री गर्दै आएको एफजेडएस भि थ्रीको चाँडै मूल्य बढाउने अनुमान गरिएको छ ।

नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत मोटरसाइकलमा लाग्ने अन्तःशुल्क १० प्रतिशतले वृद्धि गरेको कारण यसको मूल्य चाँडै बढ्ने अनुमान गरिएको हो । अहिले किन्ने ग्राहकले भने कम्पनीले ल्याएको दशैं तिहार स्कीम समेत पाउने छन् ।


Back_to_top