काठमाडौं । ग्राहकको आवस्यकता तथा मागलाई ध्यानमा राख्दै विभिन्न कम्पनीले नेपाली बजारमा नेकेड भर्सनका मोटरसाइकलको बिक्री गर्दै आएका छन् । नेपाली युवा पुस्तामा पनि नेकेड बाइकप्रतिको रुची निक्कै क्रमिकरुपमा बढ्दै गएको छ ।
यसैबीच, नेपाली बजारमा दुई नयाँ प्रिमियम नेकेड भर्सनका मोटरसाइकल भित्रिएका छन् । जसमा यामाहा एमटी १५ आजबाट आधिकारीक रुपमा बिक्री वितरण हुँदैछ भने केटीएम ड्यूक १२५ भदौ १० गतेबाट सुरु हुने नाडा अटो शोमा सार्वजनिक हुने छ ।
नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज हो भने अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ हो ।
मूल्य, डिजाइन, फिचर लगायतका पक्षलाई आधार मान्दा नेकेड भर्सनका यी दुई मोटरसाइकलबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
डायमेन्सन
यामाहाको एमटी १५ को लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम र उचाई १०७० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम र ह्वीलवेश १३३५ एमएम रहेको छ । यसको तौल १३८ किलोग्राम रहेको कम्पनीले जनाएको छ ।
केटीएम ड्युक १२५ को लम्बाई १९९३ एमएम, चौडाई ७८९ एमएम र सिट हाइट ८१८ एमएम रहेको । यसमा १३६६ एमएमको ह्वीलवेश र १७५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको तौल १४८ किलोग्राम रहेको छ ।
इन्जिन
केटीएम ड्युक १२५ लाई यो सेग्मेन्ट अन्तर्गत सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा लिइन्छ । यसमा उपलब्ध १२४.७ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले ९२५० आरपीएममा १४.५ बीएच पावरका साथै ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।
एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनसहित १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ । एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ । यसमा दिइएको इन्जिनले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्छ ।
विशेषता
नयाँ यामाहा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ । जुन एमटी ०९ बाट प्रभावित रहेको छ । यसमा एउटा थप प्रोजेक्टर हेडलाइटसमेत रहेको छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ ।
डार्क थिमसहित आएको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् । कम्पनीले यसको फ्रन्टमा टेलिस्कोपिक फर्क दिएको छ भने रियरमा मनोसक लगाएको छ ।
केटीएम ड्युक १२५ मा केटीएम ड्युक २००को स्टाइल दिइएको छ । केटीएम ३९०बाट प्रेरित यस मोटरसाइकल ड्युक ३९०को जस्तै स्टाइलमा निर्माण गरिएको छ । यसमा उपलब्ध टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडल्याम्प, आकर्षक बडीले बाइकलाई अग्रेशिप लुक दिएको छ ।
साथै, यस मोटरसाइकलमा ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएसको विशेषता उपलब्ध छ ।
मूल्य
नेपाली बजारमा ड्युक १२५ बाइकको मूल्य करिब ४ लाख ४५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
एमएडब्लू इन्टरप्राइजेजले नेपालमा परिक्षण गरिसकेको एमटी १५ मोटरसाइकल करिब ४ लाख २५ हजार रुपैयाँमा सार्वजनिक हुने अनुमान गरिएको छ ।


