काठमाडौं । नेपालमा अटोमोवाइल ब्यवसायमा लागेको पुरानो ब्यवसायीक घराना गोल्छा समुहदेखि भर्खरै गाडी आयात थालेको मेगा बिजनेश ग्रुपसम्मको यात्रालाई नियालेर हेर्दा सिमित ब्यापारकि घरानाको हातमा मात्रै अटोमोवाइल ब्यबसाय पुगेको हो ।
चाहे, अमेरिकी ब्राण्ड होस् कि इन्डियन, यूरोपियन र चिनियाँ सबैले त्यहि सिमित ब्यापारीक पृष्ठभूमी भएका ब्यक्तिहरुको फर्मलाई नै आधिकारीक बिक्रेता नियुक्त गरेको पाइन्छ । अहिले बजारमा सबैभन्दा धेरै ब्राण्ड राख्नेमा एमएडब्लू समूह र विशाल ग्रुप रहेको छ ।
हामीले यहाँ दुई पाङ्ग्रे र चार पाङ्ग्रे ब्राण्ड नेपाल ल्याएर बिक्री गर्ने ब्यापारीक घरानाको विषयमा जानकारी दिन लागेका छौं ।
सबैको प्यारो एमएडब्लू
यूरोपियन स्कोडा, अमेरिकी जीप, जापानी ब्राण्ड यामाहा, चिनियाँ ब्राण्ड चांगन, दिपाल, सेरेस, फोटोन र अवतार एमएडब्लू इन्टरप्राइजेज् अन्तर्गगतका विभिन्न होल्डिङ कम्पनीको नाममा छ ।

कम्पनीले अहिले बजारमा मोटरसाइकल, स्कुटर देखि झण्डै ३ करोड रुपैयाँ मूल्य पर्ने जीपका उत्पादन बिक्री गर्दै आएको छ । निकै आक्रमक रणनीति अपनाएर बजार बिस्तारमा काम गर्ने एमएडब्लू सबै उत्पादकको प्यारो देखिन्छ ।
कार र मोटरसाइकलका अलावा ल्यूव, हेभी इक्यूपमेन्ट, कमर्शियल सेग्मेन्टमा समेत काम गर्दै आएको समूहले चाँडै थप नयाँ ब्राण्ड नेपाल ल्याउने प्रयास गरिरहेको छ । कम्पनीले यूरोपियन ब्राण्ड नेपाल ल्याउन प्रयास गरिरहेको छ ।
ब्राण्ड खोज्न माहिर विशाल ग्रुप
विशाल ग्रुप नेपालको ठूलो ब्यापारीक घराना मध्येको एक हो । अटोमोवाइल ब्यवसायमा विशाल ग्रुपले पनि धेरै ब्राण्ड लिएर काम गर्दै आएको छ । ग्रुपसँग फक्सवागेन, रेनो, एमजी, विलिङ, सुजुकी मोटरसाइकल, माज्दा, मेक्सस, भिनफास्ट, ग्रेटवाल जस्ता ब्राण्ड छन् ।

विशाल ग्रुपसँग पनि यूरोपियनदेखि एशियाली ब्राण्डका सवारीसाधन छन् । ठूला र महंगा ब्राण्ड लिएर काम गर्दै आएको समूहसँग पनि लाइट कमर्शियल, हेभी इक्यूपमेन्ट लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
नयाँमा तहल्का मच्चाउँदै सिजी मोटर्स
सबैभन्दा पछि अटोमोवाइलमा प्रबेश गरेपनि दुई वर्षभन्दा कम समयमा नै सिजी मोटर्सले धेरै ब्राण्ड नेपाल ल्याउन सफल भएको छ । पछिल्ला दिनमा सिजीले नेटा ब्राण्डबाट प्रबेश गरेको हो ।

नेटापछि लाइट कमर्शियलमा केवाइसी र किङलङ माइक्रो भ्यानबाट प्रबेश गरेको सिजीले जीएसी एवोन, एक्सपेङ, स्मार्ट, दायून लगायत हिराे माेटरसाइकल ब्राण्डको आधिकारीक बिक्रेता लिइसकेको छ । सिजीले कुनै पनि ब्राण्डमा प्रबेश गरेपछि बजारमा नयाँ रङ्ग पैदा हुन थालेको देखिन्छ ।
दुई ब्राण्डमा काम गर्ने धेरै
दुई ब्राण्ड ल्याएर बिक्री गर्ने कम्पनीहरु धेरै छन् । लक्ष्मी ग्रुपले हुन्डाई, बीएमडब्लू र चिनियाँ ब्राण्ड केईका उत्पादन ल्याएको छ । साथै, हिरो इलेक्ट्रीक टु ह्वीलरको डिलर चलाई रहेको छ ।
स्याकार ट्रेडिङले होन्डाका कार र मोटरसाइकल बिक्री गर्दै आएको छ । गोल्छा समूहसँग बजाज, फोर्ड, सिट्रोन र प्यूजो ब्राण्ड छन् । सारडा ग्रुपसँग निसान, ओमोडा र चेरीका उत्पादन छन् ।
जगदम्बा मोटर्ससँग टीभीएस र प्रोटोन ब्राण्ड छन् । ठूला ब्यापारीक कारोबार गर्दै आएका टाटा, मारूती सुजुकी, किया र महिन्द्रा जस्ता ब्राण्डका आधिकारीक बिक्रेतासँग अन्य ब्राण्ड छैनन् ।


