काठमाडौं । अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो २०२४ सम्पन्न भएको छ । भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको अटो शो आज सम्पन्न भएको हो ।
यस पटकको अटो शोमा २३ वटा चारपाङ्ग्रे, १८ वटा मोटरसाइकल तथा स्कुटर र १४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए । साथै, २६ वटा कम्पोनेन्ट कम्पनी, ७ वटा बैंक तथा वित्तीय संस्था र एउटा बीमा कम्पनीको सहभागीता थियो ।
यस वर्ष अटो शोमा विद्युतीय सवारी साधनको वर्चश्व रहेको थियो । अटो शोमा १९ लाखदेखि डेढ करोड बढी रुपैयाँका कारहरू प्रदर्शनीमा राखिएको थियो । त्यस्तै, दुईपाँग्रेतर्फ इलेक्ट्रीक स्कुटरदेखि एड्भेन्चर मोटरसाइकल समेत प्रदर्शनीमा थिए ।
अटो शोमा २ हजार बढी गाडी बुकिङ भएका छन् भने ७५ हजार बढीले अवलोकन गरेको नाडाले जनाएको छ ।
अटो शोमा सुजुकी, हुन्डाई, टाटा, किया, महिन्द्रा, एमजी, बीवाइडी, ओमोडारजेको, काई, लिप मोटर्स, रेडारा, आयोन, नेटा, जीकर, एक्सपेङ, अवतार, नामी, सेरेस, दिपल, स्काइवेल, हेनरी र बीएडब्लूले चार पाङ्ग्रे सवारी साधान प्रदर्शनी गरेका थिए ।
मोटरसाइकल ब्राण्डको सहभागिता पनि यस वर्ष निकै राम्रो देखिएको छ । चल्तीका बजाज, यामाहा, टीभीएस, हिरो, सुजुकी, रोयल इनफिल्डसहित सीएफ मोटो, गोगोरो, ग्यारो, जीहो, इलेक्ट्रीक वान, जोनसेन, ट्रायम्फ, एथर, एनआईयू, याडिया, बेनेली, भेस्पा, बीएमडब्ल्यू जस्ता ब्राण्डले सहभागिता जनाएका थिए ।
लाइट कमर्शियलमा सेग्मेन्टमा केवाइसी, किङलङ, कामा, हाइगर, डोङफेङ, सीएचटीसी, हालमर्भ जस्ता ब्राण्ड सहभागी थिए ।
नाडा अटो शोको वेष्ट स्टल
अटो शोमा छुट्टाइएको ४ क्याटगोरीमा पहिलो हुने स्टलहरुलाई अवार्ड प्रदान गरिएको छ । जसमा कम्पोनेन्टबाट भिडोल, लाइट कमर्सियलमा सोकोन, टु ह्वीलर्समा एथर र चार पाङ्ग्रेबाट रेडाराले अवार्ड हात परेका छन् ।