‘नाडा अटो शो २०२४’मा ७ नयाँ ब्राण्ड लन्चिङ हुने

काठमाडौं । आगामी भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४मा आधा दर्जन नयाँ चिनियाँ विद्युतीय कार निर्माताले सहभागिता जनाउने भएका छन् । यी सबै ब्राण्डको आधिकारीक लन्चिङ नै अटो शो मार्फत हुन लागेको हो ।

जेठ ३१ गतेदखि असार ५ गतेसम्म अटो शोको लागि स्टल बुकिङ खुला थियो । त्यसमध्ये नयाँ चिनियाँ ब्राण्डहरु जिकर, एक्सपेङ, जेको, अवतार, रेडारा, नामी र काई ब्राण्डको लन्चिङ हुने भएको हो ।

अहिलेसम्म यी मध्ये काई र नामीको उत्पादन नेपाल आइपुगेको धेरै दिन भइसकेको छ । काईलाई लक्ष्मी इमोविलिटीले नेपाल ल्याएको हो । कम्प्याक्ट एसयूभी एक्सथ्री प्रो मोडलसहित काईले नाडा अटो शोमा भाग लिने तयारी गरेको बुझिन्छ । यद्यपि, कम्पनीले यसलाई पुष्टी गरेको छैन ।

नामी एमएडब्लू वृद्धिले नेपाल ल्याएको इलेक्ट्रीक ह्याचव्याक हो । डोङफेङ नामी ब्राण्ड नेमबाट आएको कार अहिले नेपालका विभिन्न सडकहरुमा दौडिरहेको छ । नामी ब्राण्डको नामी–१ मोडल नाडा अटो मै सार्वजनिक हुनेछ । त्यसको लागि कम्पनीले स्टल बुकिङ गरिसकेको छ ।

सिजी मोटर्सले नेपाल ल्याउन लागेको ३ नयाँ ब्राण्ड पनि आगामी अटो शोबाटै बिक्री सुरु हुनेछ । कम्पनीले एक्सपेङ, रेडारा र अवतार ब्राण्डलाई अटो शोबाट लन्चिङ गर्न लागेको हो ।

कम्पनीले ल्याउने एक्सपेङ र अवतार दुबै प्रिमियम ब्राण्डमा पर्छ । रेडाराभने इलेक्ट्रीक पीकअप उत्पादन गर्ने ब्राण्ड हो । योसँगै सिजीले इलेक्ट्रीक कार सेग्मेन्नटमा आफुलाई बलियो बनाउने रणनीति लिएको छ ।

सारडा ग्रुपले दुई इलेक्ट्रीक ब्राण्डलाई अटो शोबाट लन्च गर्ने तयारी गरेको छ । कम्पनीले जेको र जिकर ब्राण्डलाई अटो शोबाट बिक्री सुरु गर्ने योजना बनाएको हो । कम्पनीले ल्याएको जिकर प्रिमियम ब्राण्ड हो । यसको डिलरसिप नियुक्ती प्रक्रिया हिजो बुधबार मात्रै सम्पन्न भएको थियो । साथै, कम्पनीले जेको जे सिक्स मोडल पनि नाडा अटो शोबाट बिक्री थाल्नेछ ।


Back_to_top