काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग छलफल कार्यक्रमसँगै आवश्यक उपकरण हस्तान्तरण गरेको छ ।
नाडाले २५ गते हिजो बुधबार आयोजित एक औपचारिक कार्यक्रम बिच काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख मिरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मनिटरिङका लागि पाँच थान हाईटेक एडभान्स सीपीयुसँगै त्यससँग सम्बन्धित उपकरणहरू हस्तान्तरण गरेको हो ।
नाडाले १०० थान ट्राफिक रिफ्लेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा राजधानीको ट्राफिक व्यवस्थापन र पार्किङसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो । छलफलमा बोल्दै नाडाका अध्यक्ष ध्रुब थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए ।
त्यसैगरी, काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख मिरा चौधरीले नाडाको उक्त सहयोग प्रति आभार व्यक्त गर्दै आउने दिनमा पनि कार्यालयका लागि नाडाबाट सहयोग मिल्ने अपेक्षा रहेको बताइन् ।
उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, ट्राफिक कार्यालयका उच्च अधिकारीहरू समेतको उपस्थिति रहेको सो कार्यक्रममा उक्त कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नाडाका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरेका थिए ।


