‘नेपाल मोबिलिटी शो’ VS ‘नाडा अटो शो’, उपभोक्तालाई कुनमा बढी फाइदा ?

काठमाडौं । विगत ५ दशक लामो अटोमोबाइल व्यवसायीहरूको साझा संस्थाको रूपमा विकास भएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) विधिवत रूपमा विखण्डको संघारमा पुगेको छ । धेरै गाडी आयातकर्ताहरूको सहभागितामा ‘नेपाल अटोमोवाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन’ (नाइमा) दर्ता भएसँगै नाडाबाट धेरै गाडी आयातकर्ताहरू बाहिरिन लागेका हुन् ।

सुरूमा इम्पोटर्सहरूको क्लबको मोडलमा चलाउने भन्दै चर्चामा रहेको नाइमाले रातारात ‘नेपाल मोबिलिटी शो २०२५’ आयोजना गर्न भृकुटीमण्डप बुकिङ गरेसँगै नाडा विभाजनको विषयले चर्चा पाएको हो ।

नाडा भित्र चरम राजनीति भएको, निषेधकाे परिपाटी सुरू भएको र आयातकर्ताको विषय सुनुवाई नै हुन छाडेको भन्दै ५ वर्ष अगाडि नै नयाँ संस्था बनाउनु पर्ने भन्दै केही व्यवसायिक घरानाले लबिङ गर्दै आएका थिए । तर, नाडाको नेतृत्वमा रहेका व्यक्तिको सुझबुझ पूर्ण निर्णयले अर्को संस्था जन्मेको थिएन ।

‘यसअघि पनि धेरै जनाले नाडाबाट अलग हुने प्रयास गरेका थिए । उहाँहरूको हित यहीँबाट सम्भव भएको भन्दै हामीले रोका थियौं । अहिले परिस्थिति एकाएक अर्को संस्था बन्ने अवस्थामा पुग्यो । यसको जिम्मेवारी त कसैले लिनु पर्ला नि,’ नाडाका निवर्तमान अध्यक्ष ध्रुवबहादुर थापाले भने ।

साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी शो प्रदर्शनीकर्ता र अवलाेकनकर्तालाई फाइदाजनक हुने आइमाको दाबी छ । नाइमाका एक सदस्यले भने, ‘हामी प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तोमा स्टल दिन्छौं । नाडाको भन्दा व्यवस्थित स्टल दिन्छौं । अवलोकनकर्तालाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलगै दिनको व्यवस्था गर्छौं । यसले सबैको लागि नयाँ कुरा दिनेछ ।’

भदौ ३ गतेदेखि ८ गतेसम्मको लागि भृकुटीमण्डपमै नाडा अटो शो २०२५ आयोजना हुनेछ । यसको स्टल बुकिङ खुला भइसकेको छ । अहिलेसम्म कति स्टल बुकिङ भयो भन्ने जानकारी बाहिर आएको छ । तर, प्रस्ट रुपमा कित्ताकाट भएको कारण धेरै ब्राण्डले बुकिङ गर्नेमा शंका छ ।

रोचक कुरा के छ भने हाम्रो जत्रो देशमा दुई वटा अटो शो, त्यो पनि एक हप्ताको फरकमा सम्भव भएको कुरा होइन । अहिले नाडाका अध्यक्ष रहेका करणकुमार चौधरी र नाइमाको तदर्थ समिति संयोजक रितु सिंह वैद्य नेतृत्वको दुवै संस्थाले यसलाई आफ्नो प्रतिस्ठाको लडाइँ बनाएको खण्डमा त्यसको मूल्य संस्थाले नै चुकाउनु पर्ने देखिन्छ ।

होइन, समझदारीमा हाम्रो बजार र हिजोका कमी कमजोरी सुधार गरेर एक हुने अवस्था निर्माणमा जुट्न सके भव्य  अटो शो हुनेछ । त्यसमा ५० वर्षको इतिहास जोगाउने वा नजोगाउने भन्ने कुरा नाडा र त्यसका अध्यक्ष करणकुमार चौधरीको काँधमा आएको देखिन्छ ।

जहाँसम्म उपभोक्तालाई कुनमा बढी फाइदा भन्नेछ, त्यो थाहापाउन थप समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top