एक्सपेङ जी-६मा ‘एआई ब्याट्री’, १० मिनेट चार्ज गर्दा ४५० किमी रेन्ज

काठमाडौं । चिनियाँ स्टार्ट अप कम्पनी एक्सपेङले अपग्रेड गरेको जी-६ एसयूभीमा ‘एआई ब्याट्री’ प्रयोग गरेको छ । कम्पनीले फाइभ सी अल्ट्रा-फास्ट चार्जिङ क्षमताको ब्याट्री दिएर जी-६ ल्याएको हो ।

यसमा रहेको ब्याट्रीलाई १० मिनेट चार्ज गर्दा नै ४५० किलोमिटर गुडाउन पुग्ने चार्ज गर्न सकिन्छ । जबकी १२ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यदि माइनस ३० डिग्री चिसोमा तपाईले चार्ज गनुभयो भने १० देखि ८० प्रतिशत चार्ज गर्न १५ मिनेट २० सेकेन्ड लाग्ने कम्पनीको दावी छ ।

एक्सपेङ जी-६ को ब्याट्री केस बुलेट प्रुफ रहेको छ । साथै १ हजार डिग्री तातो, ८० टनको प्रेसर र २००० हजार जुल्सको इम्प्याक्ट सहन सक्ने किसिमको रहेको कम्पनीको भनाइ छ ।

यसका अलावा कम्पनीले एक्सपेङ जी-६ मोडलमा रहेका ८१ फिचरलाई अपग्रेड गरेर ल्याएको छ । कम्पनीले इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमसहित अन्य फिचर अपग्रेड गरेको हो । कम्पनीका अनुसार ३४ प्रतिशत टियर-वान कम्पोनेन्टहरु परिवर्तन भएका छन् । साथै, अगाडिको डिजाइनमा पनि परिवर्तन भएको छ ।

पहिलेको हेडलाइट परिवर्तन गरेर ‘ग्यालेक्सी लाइट विङ’मा एलइडी स्ट्रीप दिइएको छ । एक्सपेङको लोगोलाई बोनेटमा लगिएको छ । इन्टेलिजेन्ट ड्राइभिङ प्रणालीको लागि विशिष्ट प्रकारको निलो लाइट थप गरिएको छ ।

पछाडि बम्परमा पनि परिवर्तन भएको छ । नयाँ डकटेल स्पोइलरले जी-६ लाई थप स्पोर्टी बनाएको छ । गाडीको भित्र पनि कलरमा परिवर्तन भएको छ । ड्यासबोर्डको बीचमा रहेको १५.६ इन्चको स्कृन, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, नयाँ स्टेरिङ ह्वील, ग्यालेक्सी रिदम एम्बीयन्ट लाइट, हिटेड-कुलिङ र मसाज सिट यसका विशेषता हुन् । यी मध्ये धेरै फिचर अहिले पनि उपलब्ध छ ।

नयाँ जी-६ को ढोकामा ५० प्रतिशतभन्दा बढी स्थानमा लेदर प्रयोग भएको छ । वायरलेस चार्जरको एरिया सफ्टटच बनाइएको छ । ड्यासबोर्डमा काठको प्रयोग देख्न सकिन्छ ।

एक्सपेङ जी-६ अहिले नेपालमा १९० किलोवाटको मोटरमा उपलब्ध छ । सायद नेपालमा यहि मोटरमा नै जी-६ आउने छ । तर, चीनमा २१८ किलोवाटको मोटरमा बिक्री हुनेछ । ८०० भोल्ट आर्किटेक्चरमा बनेको हो ।


Back_to_top