काठमाडौं । जापानी ब्राण्ड टोयोटाले मल्टिपल अप्रोच लिएकै कारण विश्वकै ठूलो कार निर्माताको रूपमा आफूलाई बलियोसँग उभ्याउन सफल भएको छ । कम्पनीले पछिल्ला तीन वर्षमा ईभीको बिक्रीलाई विशेष जोड दिँदै आएको देखिन्छ ।
सन् २०२२ मा केबल २४ हजार युनिट इलेक्ट्रीक कार बिक्री गरेको टोयोटाले सन् २०२३ मा १ लाख ४ हजार १८ युनिट बिक्री गरेको थियो । टोयोटाले बीजेडफोरएक्स मोडल २०२२ मा बजारमा ल्याएको हो ।
सन् २०२४ कम्पनीले १ लाख ३९ हजार ८९२ युनिट विद्युतीय कार बिक्री गर्न सफल भएको हो । अहिले टोयोटासँग बीजेडफोरएक्स र बीजेडथ्री गरी दुई मोडल उपलब्ध छ । बीजेडफोरएक्स ग्लोबल मोडल हो भने बीजेडथ्री चीनमा मात्रै बिक्री हुँदै आएको छ ।
टोयोटाले सन् २०२५ को पहिलो क्वाटरसम्म आइपुग्दा थप तीन विद्युतीय मोडल बजारमा देखाएको छ । बीजेडथ्रीएक्स एसयूभी चीनबाट बिक्री सुरू भएको छ । साथै, सी-एचआर क्रसओभर एसयूभी यूरोपबाट र अर्बानक्रुजर भारतबाट बिक्री सुरू गर्न लागेको छ । यी दुवै मोडल यूरोप, एसिया र अफ्रिकी देशहरू मा बिक्री गर्ने योजना टोयोटाले बनाएको छ ।
कम्पनीसँग अब कम्तीमा चार ग्लोबल मोडल उपलब्ध हुनेछ । जसमा बीजेडफोर एक्स, बीजेडथ्रीएक्स, अर्वान क्रुजर र सी–एचआर ईभी सामेल हुनेछन् ।
सन् २०२४ मा टोयोटाले १ करोड ८ लाख युनिट कार बिक्री गरेको छ । जसमा कुनै न कुनै प्रकारको इलेक्ट्रीक जोडिएका कारको बिक्री ४५ लाख युनिट हाराहारी रहेको छ ।
सन् २०२५ मा टोयोटाको पहिलो इलेक्ट्रीक कार नेपाली बजारमा पनि आउने अनुमान गरिएको छ । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिका अनुसार २०२५ को अन्तिम क्वाटरसम्ममा विद्युतीय एसयूभी नेपाली बजारमा बिक्री सुरू हुनेछ ।