काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारी साधनको लागि छुट्टै मापदण्ड तोक्ने भएको छ । बजारमा जस्तोसुकै साधन आयात भएकोभन्दै गुणस्तरिय विद्युतीय ब्राण्ड मात्रै ल्याउन सकियोस् भनेर ‘ईभी पोलिसी’ निर्माण गर्न लागेको हो ।
सरकारले निर्माण गरेको ईभी सम्बन्धी नयाँ नीतिको ड्राफ्ट भइसकेको छ । उक्त ड्राफ्ट अहिले मुख्य सचिवकोमा पुगेको बताइएको छ । विशेषगरी विद्युतीय साधन आयात गर्दा त्यसको गुणस्तरको मापदण्ड, मोटर पावर, ब्याट्री साइज, आयातकर्ता कम्पनीले बनाउने सर्भिस सेन्टर लगायतका कुराको मापदण्ड तोकिएको छ ।
‘अहिले मापदण्ड निर्माणले अन्तिमरुप लिइसकेको छ । यसको ड्राफ्ट भएर विभिन्न मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा फाइल पुगिसकेको छ’, ड्राफ्ट निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिब सुशील बाबु ढकालले बताए ।
ढकालका अनुसार छिट्टै क्याविनेटमा यसको विषयमा निर्णय हुनेछ ।
पछिल्ला दिनमा जस्तोसुकै ब्राण्डका साधन नेपाल आउन थालेको थियो । त्यसले भोलिका दिनमा नेपाललाई ईभीको डम्पिङ साइट बनाउन लागेको जनस्तरमै आवाज उठ्न थालेका थिए । त्यसलाई सम्बोधन गर्न पनि सरकारले प्रस्ट नीति लिनु पर्ने आवश्यकता थियो ।
‘सरकारले ईभी पोलिसी निर्माण अन्तिम चरणमा पुर्याएको हामीले पनि हल्ला सुनेका छौं । तर, सरोकारवालसँग सल्लाह बीना आउन लागेको नीति कस्तो होला ? यसले अटोमोवाइल ब्यवसायमा थप आशंका उत्पन्न गराएको छ’, एक गाडी बिक्रेताले भने ।
विद्युतीय सवारी साधनको आयातमा मादण्ड आउनु सकारात्मक भएपनि स्टेक होल्डरसँगको सल्लाह बीना आउन लागेको मापदण्डले भने थप शंका उब्जाएको देखिन्छ ।