टोयोटाको सानो दुई सिटे कार, १४ वर्ष उमेर भएकाले चलाउन पाउने

काठमाडौं । धेरै वर्षसम्म हाइब्रिड र हाइड्रोजन प्रोजेक्टमा केन्द्रित भएको टोयोटाले दुई सिट क्षमताको नयाँ कार ‘एफटी–मी’ कन्सेप्ट देखाएको छ । अर्वान मोविलिटीलाई सहज बनाउन कम्पनीले दुई सिट क्षमताको कार देखाएको हो ।

अहिल्यै बजारमा आउने विषयमा कुनै जानकारी प्राप्त नभएको कारमा चालक र अर्को एक जनाले मात्रै यात्रा गर्न सक्नेछन् । यो कार यति सानो छ कि यसको लम्बाइ केबल २४३८ एमएम मात्रै छ । धेरै देशले यसलाई १४ वर्ष माथिका बालबालिकालाई पनि चलाउन अनुमति दिने बताइएको छ ।

पार्किङको समस्या रहेका सहरी चालकको लागि ध्यानमा राखेर तयार पारिएको टोयोटाको एफटी-मी कन्सेप्टमा दिइएको स्टेरिङ ह्वील पनि अनौठो छ । निकै आकर्षक सिट, मोर्डन ड्यासबोर्ड र फ्यूचरस्टीक बडी डिजाइनमा उपलब्ध यो कार बजारमा आउने मिति बताइएको छैन ।

टोयोटा एफटी–मीको छतमा सोलार रुफ रहनेछ । यसले दैनिक २० देखि ३० किलोमिटर प्रतिदिन चलाउन पुग्ने ब्याट्री रिचार्ज गर्ने टोयोटाको भनाइ छ । कम्पनीका अनुसार यो सानो कार ड्राइभर लेस टेक्नोलोजीमा आधारित भएर आउन लागेको हो ।

विद्युतीय साधन बजारमा ल्याउने विषयमा निकै आक्रमक रणनीति बनाइरहेको टोयोटाले ईभीसँगै हाइब्रिड, फ्यूलसेल र प्लगइन हाइब्रिडमा राम्रोसँग काम गरिरहेको देखिन्छ ।


Back_to_top