काठमाडौं । नाडा अटो शो २०२४ को ५ दिन सकिएको छ । आज आइतबबार अन्तिम दिन हो ।
यसपटकको नाडा अटो शो धेरै मानेमा विशेष बन्यो । एकै पटक १० नयाँ ब्राण्डले नेपाली बजारमा प्रबेश गरे । उनिहरुले अटो शो मार्फत नै बुकिङ खुलाए ।
नयाँ ब्राण्डसँगै नयाँ मोडल बीचको प्रतिस्पर्धा रोचक बन्यो । मूल्य, फिचर र डिजाइनमा राम्रै प्रतिस्पर्धा देखियो । ग्राहकको रोजाइमा डोङफेङ नामी र टाटा पन्चले निकै राम्रो प्रभाव छाडे ।

नामीका आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार ५ दिनमा नामी ह्याचव्याक कार ४४३ यूनिट बुकिङ भएको छ । २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजारसम्म मूल्य तोकेर बिक्री सुरु भएको नामी ह्याचव्याकको आकर्षक डिजाइनले धेरैलाई तानेको अनुमान लगाउन सकिन्छ ।
उता टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले अटो शोबाटै बिक्री सुरु गरेको पन्च ईभी पनि ४५० हाराहारी यूनिट बिक्री भएको सिप्रदी स्रोतले बतायो ।
‘चार दिनमा ३२८ यूनिट बुकिङ थियो । पाँचौ दिनको हिसाव पुरै आएको छैन । ४५० यूनिट माथि नै पुग्यो होला’, कम्पनी स्रोतले भन्यो ।
टाटा पन्च सनरुफ सहित उपलब्ध सबैभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी हो । टाटाले पहिलो पटक डेडिकेटेड प्लेटफर्ममा तयार पारेको पन्च ईभी ३३ लाख ९९ हजारदेखि ३८ लाख ९९ हजारसम्म मूल्य तोकेर बिक्री हुँदै आएको छ ।

