इलेक्ट्रीक कार बनाउन जुट्यो राष्ट्रिय आविस्कार केन्द्र, मूल्य १० लाख

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रले नेपालमै विद्युतीय गाडी बनाउने भएको छ । केन्द्रले पुलचोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको सहयोगमा पुराना डिजेल÷पेट्रोल इन्जिन गाडीलाई परिमार्जन गरि इलेक्ट्रीक गाडी बनाउन लागेको हो । 

पहिलो चरणमा पुरानो गाडीको इन्जिन निकालेर त्यसमा व्याट्री प्रयोग गरि इलेक्ट्रीक गाडी बनाउन लागिएको राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए । 

‘पुलचोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुको सहयोगमा केन्द्रले इलेक्ट्रीक कार बनाउन लागेको हो,’ उनले भने, ‘पुरानो इन्धनबाट चल्ने गाडीको इन्जिन निकालेर त्यसमा मोटर लगाएर इलेक्ट्रीक गाडी बनाउने योजना हो ।’ 

इलेक्ट्रीक कार बनाउनका लागि आवश्यक पर्ने सामान जुटाउने काम भइरहेकाले अबको ३ महिना भित्र गाडी तयार हुने अपेक्षा गरिएको पुनले जानकारी दिए ।

सुरुमा नमुना मोडलको इलेक्ट्रीक गाडी बनेपछि त्यसलाई व्यापकता दिइने केन्द्रको भनाई छ । 

‘केन्द्रले बनाउन लागेको इलेक्ट्रीक कार ‘मोडल’ रुपमा विकास गर्न खोजीएको हो,’ पुनले मेरोअटोसँग भने, ‘सरकारले सहजिकरण गरेर अनुमति दिने हो भने छिट्टै गाडी बनाएर सञ्चालनमा ल्याउन सकिन्छ ।’ 

त्यसका लागि पुराना गाडीलाई मोडिफाइ गर्ने कानुनी व्यवस्था सरकारले मिलाउनु पर्ने उनको भनाई छ । इलेक्ट्रीक कारमा प्रयोग हुने मोटर ल्याउन झन्झट बेहोर्नु परेकाले त्यसमा सरकारको सहयोग भए अझ छिटो काम गर्न सकिने उनले बताए । 

यसरी बनेको इलेक्ट्रीक कारको मूल्य १० लाख जति पर्ने अनुमान केन्द्रले गरेको छ । ‘निर्माणको क्रममा रहेकाले अहिले नै कति लागत लाग्छ तोकेर भन्न सकिन्न । तर १० लाख रुपैयाँमा गाडी तयार हुने हाम्रो प्रारम्भिक अनुमान छ,’ पुनले भने । 

उक्त गाडी निर्माणका लागि अहिले राष्ट्रिय आविस्कार केन्द्र पुलचोकका ५ जना इन्जिनियरहरुले काम गरि रहेका छन् । सुरुमा नमुना मोडलको इलेक्ट्रीक गाडी बनेपछि त्यसलाई व्यापकता दिइने केन्द्रको भनाई छ । 

सरकारले नेपालमै बनेको यस्ता गाडीहरु चल्न अनुमति दिन्छ वा दिन्न भन्ने कुरा अझ स्पष्ट भइनसकेको पुनले बताए । सरकारले नेपालमै यसरी विकास भएका गाडीलाई चल्न अनुमति दिने हो भने पेट्रोलियम पदार्थको आयातदेखि सवारी आयातसम्म कम हुने छ । 

साथै वातावरण प्रदूषण कम गर्न सबैभन्दा धेरै सहयोग पुग्ने उनले बताए । हालै विद्युत प्राधिकरणले आफ्नो कार्यालय प्रयोजनका लागि विद्युतीय गाडी प्रयोग गर्ने निर्णय गर्नु सकारात्मक रहेको र नेपालमै बनेका इलेक्ट्री गाडीलाई प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए । 


Back_to_top