काठमाडौं । नेपालकै पहिलो ग्वार्को ओभरपास संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
ग्वार्को ओभरपासको कुल लम्बाइ ५४० मिटर लामो छ । जसमा ३५ मिटर लामो पुल र ५०५ मिटर लामो र्याम्प छ । ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ ।
१७ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको उक्त ओभरपास काम थालिएको ३९ महिनापछि संचालनमा आएको हो । माघ २०७८ मा ठेक्का सम्झौता भएको यो आयोजना २०७९ पुस २३ गतेबाट निर्माण थालिएको थियो ।
निर्माण थालिएको १३ महिनामा डिजाइनमा समस्या देखिएपछि काम रोकेर रिडिजाइन गरी पुनः काम अघि बढाइएको थियो । त्यसपछि पनि निर्माण गरिएको ४० मिटर र्याम्पमा समस्या देखिएपछि गत पुसमा फेरि काम रोकिएको थियो । निर्माण भएको र्याम्प भत्काएर पुनः निर्माण गरिएको ओभरपास अहिले सम्पन्न भएको हो ।
सुरू सम्झौता अनुसार २०८० फागुन १२ भित्र सम्पन्न हुनुपर्थ्यो । अन्तिमपटक थपिएको म्याद २०८१ पुस ९ गते सकिएको थियो । पुस १० देखि कम्पनीले दैनिक ठेक्का रकमको ०.०५ प्रतिशत जरिवाना तिरेर काम सम्पन्न गरेको हो ।
ग्वार्को ओपभरपास इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गरिएको हो । यो मोडलमा डिजाइनदेखि निर्माणसम्मको सबै काम ठेकेदार कम्पनीले नै गरेको हो । यसको ठेक्का आरसी/समानान्तर/रेलिग्रे जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँ पाएको थियो ।
ओभर पास सञ्चालनमा आएसँगै ग्वार्को क्षेत्रमा यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।