काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्रै सवा ११ अर्ब रुपैयाँ बढीको विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन् ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको जेठमा मात्रै ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस आयात भएका हुन् ।
जेठमा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको ३ हजार ५९८ युनिट कार, जीप, भ्यान आयात भएको छ । त्यस्तै, ३ अर्ब ६ करोड रुपैयाँ बराबरको १ हजार २१ युनिट विद्युतीय माइक्रोबस आयात भएको विभागको तथ्यांक छ । जेठमा कार, जीप, भ्यान र माइक्रोबस गरी कुल ४ हजार ६१९ युनिट ईभी आयात भएको छ ।
बजेट अघि ईभीमा कर बढ्ने हल्लाका कारण व्यवसायीले क्षमताले भ्याएसम्म ईभी आयात गरेका थिए । तर, बजेटमा करको दर यथावत राखिएपछि अहिले ३ हजार बढी गाडी स्टकमा रहेका छन् ।
चालु ११ महिनामा कुल ४१ अर्ब ३ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएका हुन् । जसमा ३१ अर्ब ५५ करोड रुपैयाँ बराबरको १३ हजार ४९२ युनिट कार, जीप, भ्यान र ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ हजार १३२ युनिट माइक्रोबस रहेका छन् ।
चालु आवमा विद्युतीय कार र माइक्रोबस आयात मार्फत सरकारले २१ अर्ब ६८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
विद्युतीय कार आयातमा चिनियाँको वर्चश्व रहेको छ । विभागका अनुसार कुल आयातको करिब ७५ प्रतिशत ईभी चीनबाट आयात भएको हो ।
कुन सेग्मेन्टका कति ?
विभागको तथ्यांक अनुसार जेठसम्म अनएसेम्बल ९ युनिट, ५० किलोवाटसम्म मोटर क्षमताका ४ हजार ७२८ युनिट, ५१ किलोवाटदेखि १०० किलोवाट मोटर क्षमताका ७ हजार ३५४ युनिट, १०१ देखि २०० किलोवाटसम्मको १ हजार ३५४ युनिट, २०१ देखि ३०० किलोवाटसम्मका ४१ युनिट र ३०० किलोवाट माथिका २ युनिट विद्युतीय कार, जीप भ्यान आयात भएको छ ।
त्यस्तै, ११ देखि १४ सिट क्षमताका १ हजार ८३० युनिट र १५ देखि २५ सिट क्षमताका १ हजार २६० युनिट माइक्रोबस आयात भएको छ ।