बीपी राजमार्गमा राति गाडी चलाउन रोक, यी ठाउँमा रोकिने

काठमाडौं । काठमाडौंबाट पूर्वी तराई जाने सबैभन्दा छोटो दुरीको बीपी राजमार्गमा राति सवारी साधन संचालनमा रोक लगाइएको छ ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबारदेखि १५ दिनसम्म बीपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले प्रतिकूल मौसमका कारण रातिमा उद्दार गर्न कठिनाइ हुने देखिएकाले हाललाई १५ दिनका लागि रातिमा सवारी संचालनमा रोक लगाइएको जानकारी दिए ।

‘वर्षायाम लागेसँग मौसम प्रतिकूल छ । यस्तोमा राति केही घटना घटेमा उद्दार गर्न समस्या हुन्छ । जोखिम मोलेर सवारी चलाउनु हुँदैन,’ उनले मेरोअटोसँग भने, ‘यात्रु र सवारीको सुरक्षका लागि हाललाई १५ दिन रातिमा सवारी चालाउन रोक लगाउने निर्णय गरिएको हो ।’

उनका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सिन्धुलीको खुर्कोटदेखि काभ्रेको काभ्रे भञ्ज्याङसम्म रातिमा सवारी संचालनमा रोक लगाइएको छ ।

काठमाडौंबाट पूर्व जाने गाडीलाई काभ्रे भञ्ज्याङ र सिन्धुलीबाट काठमाडौं आउनेलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।


Back_to_top