२०२६ जनवरीदेखि दुईपाँग्रे सवारीमा एबीएस अनिवार्य

काठमाडौं । भारतमा सम्पूर्ण दुईपाँग्रे सवारी साधनहरूमा अनिवार्य रूपमा एन्टि लक ब्रेकिङ (एबीएस) सिस्टम लागू हुने भएको छ ।

भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले सन् २०२६ जनवरीदेखि उक्त व्यवस्था लागू हुने घोषणा गरेको हो ।

दुईपाँग्रे साधनको इन्जिन आकार जस्तो सुकै भए पनि एबीएस सिस्टम जडान गर्नुपर्ने मन्त्रालयले घोषणा गरेको हो ।

हाल १२५ सीसीभन्दा ठूलो इन्जिन क्षमता भएका दुईपाँग्रे सवारी साधनहरूमा मात्रै एबीएस अनिवार्य गरिएको छ । भारतीय बजारमा चल्ने लगभग ४० प्रतिशत दुईपाँग्रे साधनहरूमा यो सुरक्षा फिचर छैन ।

सडकमा हुने दुईपाँग्रे साधन दूर्घटना न्यूनीकरण गर्नका लागि एबीएस जस्ता सुरक्षा फिचर हुन एकदमै आवश्यक रहेको छ ।

एबीएसले अचानक ब्रेक लगाउँदा वा पावरले ब्रेक समाउँदा टायर लक हुनबाट रोक्न मद्दत गर्दछ । यसले चालकलाई साधनको नियन्त्रण राख्न, चिप्लिने र दुर्घटना हुने जोखिम पनि कम गर्छ ।

अध्ययन अनुसार एबीएसले दुर्घटनाको सम्भावनालाई ४५ देखि ५० प्रतिशतसम्म घटाउन सक्छ ।


Back_to_top