नेटा भी किन्न ५ लाखभन्दा कम डाउन पेमन्ट, के मूल्य घटेको हो ?

काठमाडौं । सिजी मोटर्सले नेटा भी किन्ने ग्राहकलाई ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा नै गाडी दिने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीम अनुसार गाडी किन्ने ग्राहकसँग डाउन पेमेन्टको लागि ५ लाख रुपैयाँ भए पुग्नेछ ।

नेटा भीको मूल्य भने घटेको होइन । अहिले पनि यसको अधिकतम खुद्रा बिक्री मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसको २० प्रतिशतले हुन आउने ७ लाख ७९ हजार ८०० रुपैयाँ मध्ये ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट गर्दा गाडी पाउने छन् ।

कम्पनीले गाडीमा दिने छुट रकम डाउन पेमेन्टमा नै एड्जस्ट गरेर थोरै डाउन पेमेन्ट गर्दा गाडी लिन पाइने बनाएको हो । यसले मासिक कमाई राम्रो भएको तर, एकै पटक डाउन पेमेन्ट गर्ने रकम नभएको ग्राहकलाई सहज हुने सिजी मोटर्सले जनाएको छ ।

कम्पनीले २ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्टमा छुट दिएको हो । कम्पनीले ल्याएको स्कीममा नेटा भी किन्ने ग्राहकले मासिक ५१ हजार ८०० रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ । यो हिसाव ९.९९ प्रतिशत ब्याजदरमा ७ वर्षे किस्ता तिर्नेगरी खरिद गर्नेको लागि हो ।

यस्तो छ नेटा भी

नेटा भीमा ७० किलोवाटको मोटर र ४०.७ किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध छ । यसले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

आकर्षक फ्रन्ट डिजाइन र हाइटेक क्यावीन फिचर रहेको नेटा भीको ड्यासबोर्डमा १४.६ इन्चको सेन्टर कन्ट्रोल टचस्कृन डिस्प्ले रहेको छ ।

सीजी मोटर्सले यो कारको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ । कारको अन्य नन्मुभिङ आइटममा भने कम्पनीले १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ ।


Back_to_top