दुई हप्ता भित्रै नेपाल आउँदै ‘नेटा भी’ इलेक्ट्रीक, यस्तो हुनेछ मूल्य

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याउन लागेको विद्युतीय कार दुई हप्ता भित्रै काठमाडौं आइपुग्ने कम्पनीले जानकारी दिएको छ । अहिले बाटोमा रहेको कार केरुङ नाका हुँदै काठमाडौं आउने छ ।

सिजी मोटरले सबैभन्दा पहिला ल्याउन लागेको इभी ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ले उत्पादन गरेको नेटा भी मोडल हो । विगत ४ वर्षमा लगातार चार मोडल उत्पादन गरेको होजनको नेटा भी ४ मिटर साइजको इलेक्ट्रीक एसयूभी हो ।

नेपाली बजारमा सबैभन्दा चल्तीका मोडल नै सब फोर मिटर सेग्मेन्टमा रहेको छ । सिजी मोटरले नेटा भीलाई ३८ लाख मूल्य राखेर विक्री गर्ने तयारी गरेको जनाएको छ ।

‘गाडी आउँदै छ, लगभग ३८ लाख मूल्य तोकेर विक्री सुरु गर्ने योजना बनाएका छौं । गाडी विक्री गर्न काठमाडौंको टंगालमा शोरुम निर्माणको काम अगाडि बढेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनी स्रोतका अनुसार फुल अप्सन नेटा भी अहिले बजारमा चल्तीको इलेक्ट्रीक कार नेक्सन इभी भन्दा कम मूल्यमा उपलब्ध हुनेछ ।

साइज

झट्ट हेर्दा टेस्ला जस्तै लाग्ने डिजाइन भएको कारण नेटा भीको चर्चा हाम्रो बजारमा पनि सुरु भएको थियो । यो एसयूभीको लम्वाई ४०७० एमएम चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यो कारको ह्वीलवेस २४२० एमएमको रहेको छ ।

अन्य फिचर

नेटा भीको दुबै साइडमा चार्जिङ पोर्ट दिएको छ । एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ । आकर्षक इन्टेरियर रहेको नेटा भीमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ । यसको स्टेरिङ ह्वील स्पोर्टस कारबाट प्रेरित रहेको देखिन्छ ।

व्याट्री साइज र रेन्ज

नेटा भी अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध रहेको छ । अनुमानीत मूल्य ३८ लाख हुने भएकोले कम्पनीले सुरुमा नेपाल ल्याएको स्टायडर्ड भेरियन्ट हुने अनुमान गर्न सकिन्छ । यसको विषयमा कम्पनीले आधिकारीक जानकारी दिएको छैन ।

यसको स्टायडर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर रहेको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ ।

त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीको वेभ साइटमा उल्लेख छ । यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।


Back_to_top