मोटरसाइकलको टायर बचाउने ४ तरिका

काठमाडौं । मोटरसाइकल नेपालको सबैभन्दा धेरै प्रयोग हुने सवारीसाधन हो । विशेषत यातायातको आवश्यकता पुरा गर्न निजी सवारीसाधनको रुपमा प्रयोग हुँदै आएको मोटरसाइकल अहिले राइड एण्ड सेयरिङको रुपमा पनि प्रयोग हुँदै आएको छ ।

त्यसमा पनि टायर कुनै पनि सवारीसाधनको लागि कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा यहाँ चर्चा गरिरहनु पर्दैन । पछिल्ला केही वर्षदेखि नेपालमा पनि युवाहरुमा लामो दुरी मोटरसाइकल चलाएर यात्रा गर्ने, घुम्ने कल्चरको विकास भएको देखिन्छ । यस्तोमा मोटरसाइकलमा प्रयोग भएका टायर कसरी बचाउने भन्ने विषयमा जानकारी राख्नु आवस्यक हुन्छ ।

यदि तपाई लामो दुरीको यात्रा मोटरसाइकलमा गर्दै हुनुहुन्छ भने तपाईले आफ्नो मोटरसाइकलको टायरको अवस्था सँगसँगै चलाउदा पनि विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।

टायर प्रेसर ठिक गर्नुहोस्

लामो यात्रामा होस् वा घर-अफिसको यात्रा तपाईको मोटरसाइकलमा टायर प्रेसर ठिक हुन जरुरी हुन्छ । सहि टायर प्रेसरले तपाईको मोटरसाइकलको टायर बचाउने मात्रै होइन, माइलेज बढ्नेदेखि सम्भावित दुर्घटनाबाट पनि बचाउँछ । सबै किसिमको मोटरसाइकलमा टायर साइज र बनोट अनुसार फरक प्रेसर जरुरी हुन्छ । त्यसैले यात्रा सुरु गर्नु पहिले टायर प्रेसर ठिक गर्नु पर्छ ।

घाममा पार्किङ नगर्ने

धेरै समय घाममा पार्किङ गरेर मोटरसाइकल राख्दा टायरसमेत तात्छ । धेरै समय तातोमा राख्दा टायरको लाइफमा नै असर गर्छ । साथै, धेरै घाम लागेको स्थानमा मोटरसाइकल राख्दा टायरमा साना साना चिरिएको अवस्था हामीले देख्न सक्छौं । त्यसैले सधै मोटरसाइकल पार्कगर्दा सित्तल स्थान खोजेर गर्दा टायर बचाउन सकिन्छ ।

चलाउदा ध्यान दिउँ

मोटरसाइकललाई तुरुन्तै धेरै स्पीडमा पुर्याउन एक्सीलेरेटर बटार्दा पनि टायरमा धेरै प्रेसर पर्छ । सडकसँगको घर्षणले गर्दा टायर चाँडै खिइन्छ । त्यस्तै मोटरसाइकलमा अचानक ब्रेक लगाउँदा पनि चक्का घोटिने गरेको हामीले देखेका छौं । त्यसैले आफ्नो र टायरको सुरक्षालाई ध्यानमा राखेर चलाउनु पर्छ ।

सडकको अवस्थामा ध्यान

मोटरसाइकलको टायरको आयु सडकको अवस्थामा धेरै हदसम्म भर पर्छ । यदि राम्रो मापदण्डमा तयार भएको सडक छ भने टायर धेरै समय चल्छ भने अफरोड भएमा टायर धेरै चाँडो च्यात्तिन सक्छ । साथै, समय समयमा मोटरसाइकलको चक्का ठिक छ वा छैन, एलिमेन्टको अवस्था कस्तो छ भनेर पनि चेक गारउनु पर्छ ।


Back_to_top