काठमाडौं । सवारी साधन अहिले विलासी साधन नभएर, दैनिक अत्यावश्यक साधन हो । आधुनिक जीवनशैली, बढ्दो सहरीकरण र आर्थिक गतिविधिहरूसँगै सवारी साधन आधारभूत आवश्यकता बन्न पुगेको छ ।
सवारी साधनले मानिसको मोबिलिटी, उत्पादकत्व र दैनिक जीवनलाई व्यवस्थित बनाउँछ । हाम्रो जस्तो अस्तव्यस्त, अव्यवस्थित र असहज सार्वजनिक यातायात भएको देशमा निजी सवारी बाध्यत्मक विकल्प बनेको छ ।
त्यसैले निजी सवारी किन्नेहरू बढ्दो क्रममा छन् । साधरण मानिसहरू दुईपाँग्रे र मध्यमवर्ग चारपाँग्रे निजी सवारीतर्फ आकर्षित भइरहेका छन् । जसले सवारी साधनको व्यापार समेत बढाएको छ ।
नेपाली बजारमा हाल ४ दर्जन बढी ब्राण्डका कार उपलब्ध छन् । धेरै विकल्प भएकाले सही गाडी छनोट गर्न ग्राहकलाई कतिपय अवस्थामा अन्योल समेत हुन्छ सक्छ । साथै, आवश्यक पूर्वतयारी नगरी गाडी किन्दा भविष्यमा अनावश्यक खर्च बढ्ने र झन्झट व्यहोर्नुपर्ने हुनसक्छ ।
अहिले फेस्टिभ सिजन चलिरहेको छ । धेरै मानिस दशैं, तिहार जस्ता चाडपर्वमा नयाँ कार किन्ने योजनमा पनि छन् । सवारी किन्ने काम बजारबाट अरु सामान किने जस्तो होइन् । नयाँ गाडी किन्नु अघि धेरै काम गर्नुपर्छ । जसको हामीले यहाँ चर्चा गरेका छौं ।
१. बजेट निर्धारण : कुनै पनि सामान किन्नु अघि गर्नुपर्ने मुख्य काम बजेट व्यवस्थापन हो । सबैभन्दा पहिला आफूले कति मूल्यसम्मको कार किन्ने हो, त्यो निर्धारण गर्नुपर्छ । आफूसँग भएको बैंक ब्यालेन्स, नियमित कमाइका आधारमा कारका लागि खर्चिन सक्ने बजेट निश्चित गर्नुपर्छ । कार किन्न बजेट बनाउँदा गाडीको मूल्यसँगै बीमा, कर, दैनिक संचालन खर्च र किस्ता रकम समेत हिसाब गर्नुपर्छ । जसले तपाईंलाई कार किन्नु अघि नै मेरो मासिक यति खर्च हुन्छ भन्ने स्पष्ट बनाउँछ ।
तपाईसँग नगद छ भने कुनै समस्या भएन । यदि किस्ता बन्दीमा किन्ने हो भने बैंकको ब्याजदर, बेसरेट, प्रिमियम, सेवा शुल्क लगायत बारेमा पनि जानकारी लिनुहोस् ।
२. आवश्यकता पहिचान : तपाईं कुन प्रयोजनका लागि गाडी किन्दै हुनुहुन्छ, त्यो पहिले नै स्पष्ट हुनुपर्छ । दैनिक कार्यालय आउजाउ, पारिवारिक प्रयोग, लामो दूरीको यात्रा वा व्यावसायिक प्रयोजन के का लागि गाडी किन्ने, त्यो टुंगो लगाउनुहोस् । शोरुममा गएर अल्मिलिनु हुँदैन ।
हरेक प्रयोजनका लागि फरक फरक किसिम र क्षमतामा गाडी उपलब्ध छन् । तपाईं सहरभित्र दैनिक अफिस आउजाउ र सामान्य पारिवारिक घुमफिरका लागि कार किन्दै हुनुहुन्छ भने ह्याचब्याक वा कम्प्याक्ट एसयूभी उपयुक्त हुन्छन् । तर अफरोड, पहाडी बाटो वा धेरै सामान र परिवारसहित लामो दूरी यात्राका लागि हो भने उच्च ग्राउण्ड क्ल्यिरेन्स भएका मिड वा फुलसाइज एसयूभी वा अफरोड एसयूभी छान्नुपर्छ । सामान्य व्यवसायिक र पारिवारिक कामका लागि भने एमपीभी उपयुक्त हुन्छ । तपाईं कारको सौखिन हुनुहुन्छ भने सेडान वा प्रिमियम लग्जरी गाडी रोज्नुहोस् ।
३. उपयोगितामा ध्यान दिनुहोस् : बजारमा पाइने अधिकांश कारको बाहिरी लुक्स हेर्दा तपाईं तुरुन्तै मनपर्न सक्छ । तर, दैनिक प्रयोगका लागि गाडी कत्तिको व्यावहारिक छ भन्ने बढी महत्त्वपूर्ण हुन्छ । गाडीको इन्टिेरियर स्पेस, आरामदायी सिट, बुट स्पेस, अन्य स्टोरेज क्षमता, ढोका खोल्ने सहजता लगायत व्यवहारिक पक्षलाई ध्यान दिनुहोस् । गाडी हेर्दा राम्रो मात्रै भएर हुँदैन, व्यवहारिक रूपमा सहज र आरामदायी समेत हुनुपर्छ ।
४. पावर ट्रेन छनोट : बजारमा विद्युतीय, आइस र हाइब्रिड गाडी उपलब्ध छन् । तपाईं इन्धन खर्च जोगाउन, सहरी क्षेत्रमा चलाउन र प्रविधिमैत्री अनुभवका लागि कार किन्दै हुनुहुन्छ भने ईभी उत्तम विकल्प हुन्सक्छ ।
तर, चार्जिङ स्टेसन, रेन्ज लगायत कारण अहिल्यै नेपालको सबै ठाउँमा ईभीको प्रयोग सम्भव छैन । यस्तोमा कम्बस्चन इन्जिन वा हाइब्रिड गाडी नै व्यावहारिक र उपयोगी हुन्छ । यदि, तपाईं ईभी किन्दै हुनुहुन्छ मुख्यगरी मोटर पावर, ब्याट्री साइज र रेन्ज हेर्नुहोस् । कम्बस्चन गाडी किन्दै हुनुहुन्छ भने इन्जिन क्षमता र माइलेज ख्याल गर्नुहोस् । त्यसैले गाडी किन्नु अघि नै आफ्नो आवश्यकता र प्रयोगका आधारमा उपयुक्त पावर ट्रेन विकल्प छान्नुपर्छ ।
साथै, आफूले किन्न लागेका कारमा भएका आधुनिक र सुरक्षा फिचर बारे जानकारी राख्नुहोस् । कारमा एयरब्याग, एबीएस, जस्ता सामान्य फिचर अनिर्वाय भए पनि ब्रेक एसिस्ट, ब्लाइण्ड स्पर्ट मोनिटरिङ, क्रुज कन्ट्रोल, स्पीड वार्निङ, एडास जस्ता आधुनिक सेफ्टी फिचर भएको कार रोज्नु उपयुक्त हुन्छ ।
५. बिक्रेता, वारेन्टी र सर्भिस बारे जान्नुहोस् : नेपालमा पछिल्लो समय नयाँ नयाँ ब्राण्डको बाढी लागिरहेको छ । जुनसुकै पेशामा आबद्ध रहेकाले पनि गाडी ल्याएर बेचिरहेका छन् । यस्तोमा तपाईंले बिक्रेताको विगतको इतिहास हेर्नुपर्छ । उसले गाडी मात्र बेच्छ कि बिक्रीपछि सहजै सर्भिसिङ, स्पेयर पार्टसको उपलब्धता गराउन सक्छ सक्दैन ख्याल गर्नुपर्छ । देशभर कहाँ कति सर्भिस सेन्टर छन् बुझ्नुपर्छ । यी कुराले नै उसले दिएको वारेन्टी कागजमा मात्रै सीमित हुन्छ कि व्यवहारमा लागू हुन्छ भन्ने समेत निर्धारण गर्छ । यदि, ईभी किन्दै हुनुहुन्छ भने उसको चार्जिङ नेटवर्क समेत बुझ्नुपर्छ । सकेसम्म बजारमा चलेका, राम्रो सर्भिस नेटवर्क र सहजै पार्टपूर्जा पाइने ब्राण्ड छनोटमा राख्नुहोस् । साथै, आफूले किन्न लागेको गाडीको रिसेल भ्यालु र रिकण्डिसन बजारको अवस्था समेत बुझ्नुहोस् ।
६. टेस्ट ड्राइभ गरेर मात्रै निर्णय लिनुहोस् : आफ्नो बजेट, आवश्यकता र रोजाइमा परेका कारमध्येबाट कम्तीमा ३/४ वटा कार शर्टलिस्ट गर्नुहोस् । त्यसपछि गाडीको अनिवार्य टेस्ट ड्राइभ गर्नुहोस् । गाडीको भिजिबिलिटी, राइड कम्फर्ट, सस्पेन्सन र ग्राउण्ड क्लियरेन्स आफैँले अनुभव गर्नुहोस् । सर्टलिस्टमा परेका मध्येबाट मूल्य, फिचर्स र टेस्ट ड्राइभ अनुभवको आधारमा उत्कृष्ट गाडी छनोट गर्नुहोस् । अनि मात्रै खरिद गर्नुहोस् ।

