उपत्यकाका ६ रुटमा गुड्न थाले रात्रि बस

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ६ रुटमा रात्रिकालीन बससेवा विस्तार गरिएको हो ।

गत वैशाख १ गतेदेखि नागढुंगा-एयरपोर्ट र लगनखेल-बुढानीलकण्ठ रुटमा संचालनमा ल्याइएको रात्रि बससेवा शनिबारदेखि थप ४ रुटमा विस्तार गरिएको हो ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँग सहकार्य गर्दै रात्रि बससेवा विस्तार गरेका हुन् ।

६ रुटमा साझा यातायातका २८ वटा विद्युतीय बस संचालनमा आएका हुन् । शनिबारदेखि बुढानीलकण्ठ-गोदावरी रुटमा ६ वटा, जगाती-रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थल-नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर-जमल रुटमा ४ वटा रात्रि बस संचालनमा आएका हुन् ।

त्यसैगरी, चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस संचालन गरिएका छन् । यसअघि नागढुंगा-एयरपोर्ट रुटमा ४ वटा र लगनखेल-बुढानीलकण्ठ रुटमा ३ वटा रात्रि बस संचालन हुँदै आएका थिए ।

साझा यातायातका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित रुटका प्रस्थान बिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन्। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समय समेत समायोजन गरिने जनाइएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको माग बढ्दै गएको र रातिको समयमा सार्वजनिक सवारी साधनको उपलब्धता तुलनात्मक रूपमा कम रहेको अवस्थालाई ध्यानमा राखेर रात्रिकालीन सेवा विस्तार गरिएको साझाले जनाएको छ ।

थप रुटमा रात्रिकालीन बससेवा विस्तार भएसँगै रात्रिकालीन सेवामा खटिने कर्मचारी, विमानस्थल र लामो दूरीका यात्रु, साना व्यापारी, विद्यार्थी, आकस्मिक काम परेका सर्वसाधारण सहज हुने भएको छ ।


Back_to_top