काठमाडौं । नेपालमा मूल्यका हिसाबले १७/१८ लाख रुपैयाँदेखि नै कारहरू किन्न पाइन्छ । सहरी क्षेत्रलाई ध्यानमा राखेर उपलब्ध गराइएका २ वा ४ सिट क्षमताका साना र सस्ता कार नेपाली सडकमा एकाध गुडेको देख्न सकिन्छ ।
साना कारहरू कत्तिको भरपर्दो हुन्छ । कुन ब्राण्डले उत्पादन गरेको हो । यसको प्रयोग कुन र कस्तो ठाँउमा गर्ने हो ? लगायतका कुरा प्रस्ट भएर मात्रै त्यस्ता कारमा पैसा लगाउनु पर्ने हुन्छ ।
त्यसैले साना कार खोज्नेले ब्राण्ड वा मोडल छान्नुअघि केही कुरा ध्यानमा राखेर निर्णय लिएको खण्डमा पछि पछुताउनु पर्दैन । त्यही कुरालाई हामीले यहाँ उल्लेख गरेका छौं ।
आफ्नो आवश्यकता एकीन गर्ने
तपाईंले साना कार किनेपछि दैनिक २०/३० किलोमिटर चलाउने हो वा परिवारसहित लामो यात्रा गर्ने हो ? त्यो कुरा एकीन गर्नुपर्छ । त्यसमा दुई ढोका भएको कार किन्ने कि चार ढोका त्यो पनि पहिल्यै निर्णय लिनुपर्छ । घरमा पार्किङ कत्रो छ भन्ने कुराले पनि कार छनोटमा असर गर्छ । यी सबै प्रश्नको उत्तर तयार भएपछि छानिएको सानो कार तपाईंको लागि उपयोगी हुन सक्छ ।
खरिद मूल्य र भविष्यको खर्च
तपाईंले किन्न खोजेको कारको मूल्य एकीन गर्नुहोस् । अन्य प्रतिस्पर्धी मोडलसँग तुलना गर्नुहोस् । तुलनापछि भविष्यमा रिकन्डिसन बजारमा बिक्री गर्नुपर्दा पनि कुन ब्राण्डले राम्रो रिसेल दिन सक्छ एकीन गर्नुहोस् । साथै भविष्यमा गर्नु पर्ने खर्च कर, बीमा रकम, सर्भिसको अवस्था जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।
कारको इफिसियन्सी
ईभी छान्दा ठूलो ब्याट्री भएको राम्रो हुन्छ भन्ने होइन । रेन्ज उस्तै छ तर, ब्याट्री सानो छ भने त्यो फाइदाजनक हुन्छ । त्यसैले कति किलोवाट आवर ब्याट्रीमा कति किलोमिटर चल्छ भन्ने कुरा हेर्नुपर्छ । सानो ब्याट्री छ भनेपछि फेर्नुपर्दा पनि कम खर्च लाग्छ ।
ब्याट्री र वारेन्टी
बजेट ईभीमा सबैभन्दा महत्त्वपूर्ण कुरा ब्याट्री र वारेन्टी नै हो । ब्याट्री केमेस्ट्री, हिट मेनेजमेन्ट, वारेन्टी अवधि, वारेन्टीमा के-के समेटिन्छ र ब्याट्री बिग्रिँदा पूरा ब्याट्री फेर्नुपर्ने हो कि सेल/मोड्युल मर्मत गर्न सकिन्छ एकीन गर्नुपर्छ ।
सुरक्षा
साना ईभीको अर्को चुनौती सुरक्षा फिचर हो । एयरब्याग मात्रै सुरक्षा फिचर होइन । एबीएस, ईबीडी, ईएससी, एयरब्यागको संख्या, आईएसओफिक्स चाइल्ड सिट, बडी डिजाइन, ब्याट्री सुरक्षा जस्ता कुरा हेर्नुपर्छ ।
ब्राण्डभन्दा नेपालमा रहेको प्रणाली
नेपालमा कार बन्दैन, त्यसैले ब्राण्डको नाम महत्त्वपूर्ण मानिन्छ । तर, त्यसलाई नेपाल ल्याएर बिक्री गर्ने आधिकारिक वितरक कस्तो छ । गाडीमा कत्तिको अनुभवि हो भन्ने कुरापनि अझ महत्वपूर्ण हुन्छ ।
आधिकारिक बिक्रेताले स्पेयर पार्टस ल्याउँछ ? देशमा कस्तो नेटवर्क बनेको छ ? दुर्घटना भएको खण्डमा बनाउन पार्टस दिन्छ ? ब्याट्री ब्यवस्थापन र मर्मतमा के गर्दैछ ? भन्ने कुरा एकीन गर्दा राम्रो हुन्छ ।
रिसेल भ्यालू
बजेट कारमा रिसेल भ्यालू झन् महत्वपूर्ण हुन्छ । आज २५ लाखमा किनेको कार तीन वर्षपछि कति मूल्यमा बिक्री हुन्छ भन्ने कुराले मात्रै कारलाई वास्तविक ‘भ्यालु फर मनी’ बनाउने हो ।
अन्तिममा ‘परीक्षण’
कागजमा राम्रो देखिने कार र नेपालका सडकमा राम्रो लाग्ने कार फरक हुन सक्छ । उकालो, ओरालो, खराब बाटो, पार्किङ, यात्रु चढाएर, एसी चलाएर र सम्भव भए रातमा समेत परीक्षण गरेर सानो कार किनेको खण्डमा सहि निर्णय हुनसक्छ ।

