काठमाडौं । निसान र रेनोले भारतमा एउटै प्लान्टमा उत्पादन गरेको सब फोर मिटर एसयूभी निसान म्याग्नाइट र रेनो काइगर दुबै नेपालमा सफल मोडल भएका छन् । विशेषत पेट्रोलको मूल्य तिव्र गतिमा बढी रहेको समयमा धेरै माइलेज दिने एसयूभी खोज्ने ग्राहकलाई यी दुबै एसयूभी सहि छनोट बन्न सक्छ ।
निसान म्याग्नाइट पायोनियर मोटोकर्प र रेनो काइगर एड्भान्स अटोमोबाइल्सले विक्री गर्दै आएको छ । विशेषत समान साइज, मूल्य र माइलेजको कारण यी दुबै एसयूभी किन्ने ग्राहक बढी रहेका छन् ।
निसान म्याग्नाइट र रेनो किगर एउटै प्लेटफर्ममा बनेका एसयूभी हुन् । साथै, दुबै कारमा समान १.० थ्रि सिलिण्डर नेचुरल्ली एस्पीरेटेड र १.० टर्बो पेट्रोल इन्जिन दिइएको छ । एक हजार सीसी क्षमताको इन्जिन भएको कारण यसको माइलेज उच्च रहेको छ ।
धेरै कुरा समान भएपनि यी दुई सब फोर मिटर एसयूभीको डिजाइन ल्याङ्वेज र फ्रन्ट फेसिका भने फरक रहेको छ ।

नेपालमा काइगरभन्दा करिब ७ महिना अघि नेपाल आएको निसान म्याग्नाइट विभिन्न ११ भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले नन् टर्बो इन्जिनको सुरुवाती मूल्य ३१ लाख ९९ हजारदेखि टप भेरियन्टको मूल्य ४१ लाख ४८ हजार तोकेको छ ।
रेनोको आधिकारीक विक्रेताले काइगर १८ भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले नन् टर्बो र टर्बो इन्जिनमा काइगर उपलब्ध गराएको छ । नन् टर्बो भेरियन्टको मूल्य २९ लाख ९९ हजारदेखि ३९ लाख ४९ हजारसम्म कायम गरेर विक्री गर्दै आएको छ ।

त्यसैगरी टर्बो इन्जिन भएको म्याग्नाइटको सुरुवाती मूल्य ३९ लाख ९९ हजारदेखि ४६ लाख ३४ हजार रुपैयाँसम्म रहेको छ । रेनो काइगरको टर्बो भेरियन्टको भने सुरुवाती मूल्य ४० लाख १५ हजार र टप भेरियन्टको ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
एआरएआईले १८ देखि २० किलोमिटर माइलेज प्रमाणित गरेको यी दुई एसयूभीको अनरोड माइलेज भने १३ देखि १५ किलोमिटर प्रति लिटर रहेको छ । दुबै मोडल म्यानुअल र अटोमेटीक गियरबक्समा उपलब्ध रहेका छन् ।

