काठमाडौं । हुन्डाईको सर्वाधिक सफल मोडल क्रेटासँग प्रतिस्पर्धा गर्न टोयोटाले नयाँ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले मारुती सुजुकीसँग मिलेर भारतमा नयाँ मोडल तयार पारेको हो ।
टोयोटा र मारुती सुजुकी दुबै ब्राण्ड नेममा विक्री हुने भएकोले मूल्य पनि क्रेटाको हाराहारी नै रहने अनुमान गरिएको छ । नयाँ एसयूभीलाई मारुती सुजुकीले ‘वाइएफजी’ कोड नेम र टोयोटाले ‘डी२२’ नाम दिएर काम गरिरहेको छ ।
सम्भवत आगामी महिनाको अन्तिमसम्ममा यो एसयूभी बजारमा आउने अपेक्षा गरिएको छ । दुबै ब्राण्डले यसको उत्पादन भने सुरु गरिसकेको जनाएका छन् । नयाँ एसयूभीको लम्बाई ४.३ मिटर हुने अनुमान गरिएको छ । टोयोटा र्याभ फोरबाट प्रभावित डिजाइन भएकै कारण यसको चर्चा बढेको हो । नयाँ एसयूभीलाई टोयोटा र दायहात्सुले एसियाली मुलुकहरुका लागि बनाएको डीएनजीए प्लेटफर्ममा बनिरहेको छ ।
केही दिनअघि यसलाई परिक्षणको क्रममा देखिएको थियो । तस्विरमा देखिए अनुसार नयाँ एसयूभीमा स्प्लीट हेडल्याम्प क्लस्टर, एसक्रसको जस्तै एलइडी डीआरएल लाइट र नयाँ बलेनोको जस्तै फ्रन्ट ग्रिल र नयाँ डिजाइन गरिएको डायमण्ड कट अलोय ह्वील देखिएको थियो ।

दुबै ब्राण्डले एसयूभीमा हाइब्रिड इन्जिन दिने छन् । यसलाई केही किलोमिटर इलेक्ट्री पावरले पनि गुडाउन सकिनेछ ।
यसको क्यावीनमा ९ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ३६० डिग्री क्यामरा, हेडअप डिस्प्ले, ६ वटा एयरव्याग, एड्जस्टेवल डिस्प्लेका साथै एडिएसमा आधारित क्रुज कन्टोल सिस्टम रहने अनुमान गर्न सकिन्छ ।
आउँदै गरेको चाडपर्वमा विक्री सुरु गर्ने लक्ष्य बनाएको नयाँ एसयूभीले हुन्डाई क्रेटाको अलावा किया सेल्टोस, फक्सवागेन टाइगुन, स्कोडा कुशक, एमजी एस्टर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।


