काठमडौं । चिनियाँ अटोमोबाइल उत्पादक सेरेस ग्रुपले नयाँ ब्राण्ड ल्याउने भएको छ ।
कम्पनीले टिकटकको माउ कम्पनी बाइटडान्सको क्लाउड र एआई प्लेटफर्म ‘भोल्कानो इन्जिन’ बीचको सहकार्यमा साइदो टेक्नोलोजी (पुरानो चोङकिङ लान्डियान टेक्नोलोजी)मा नयाँ ब्राण्ड ल्याउने भएको हो ।
टिकटकको माउ कम्पनीसँग मिलेर उत्पादन हुने भएकाले नयाँ ब्राण्डको कारलाई टिकटक कार समेत भनिएको छ ।
ल्यान्जिङ अटोलाई उद्धृत गर्दै उद्योग सम्बद्ध स्रोतहरूले जनाए अनुसार साइदो टेक्नोलोजीले यसै वर्षभित्र आफ्नो पहिलो मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ ।
यो गाडी एसयूभीर सेडानको मिश्रण भएको क्रसओभर मोडल हुने अपेक्षा गरिएको छ । जसले पूर्ण इलेक्ट्रिक र रेन्ज एक्सटेन्डर दुवै पावरट्रेन विकल्पहरू प्रदान गर्नेछ । यसको उत्पादन सेरेसको फोनिक्स कारखानाबाट हुनेछ । जुन अहिले नयाँ प्रविधि र मेसिनरी जडानका लागि परिमार्जन भइरहेको छ।
यो ब्राण्डले एआईमा आधारित प्रयोगकर्ता अनुभवलाई मुख्य प्राथमिकता दिएर आफूलाई बजारमा फरक रूपमा प्रस्तुत गर्नेछ । हुवावेको ‘छियानकुन इन्टेलिजेन्ट ड्राइभिङ सोलुसन’ प्रयोग गर्ने एइटो ब्राण्डको विपरित साइदोले भोल्कानो इन्जिनको उन्नत एआइ ककपिट र ‘लार्ज ल्याङ्ग्वेज मोडल’ क्षमताको उपयोग गर्ने अपेक्षा गरिएको छ ।
भोल्कानो इन्जिनले गाडीको अन्तक्र्रियात्मक सुविधाहरूका लागि अटोमोटिभ ब्रेनको रूपमा काम गर्ने भए पनि कम्पनीले अटोनोमस ड्राइभिङ क्षेत्रमा प्रवेश नगर्ने र केवल क्लाउड तथा पूर्वाधार सहयोगमा केन्द्रित रहने कुरा स्पष्ट पारेको छ।
यो नयाँ ब्राण्डलाई युवालाई लक्षित गरी तयार पारिएको छ । यसका लागि चिनियाँ तथा अन्तर्राष्ट्रिय बजार दुवैमा छुट्टै बिक्री च्यानल बनाइनेछ । यो सुरुवात पुरानो लान्डियान ब्राण्डको तुलनामा एक ठूलो परिवर्तन हो ।
सेरेसले रणनीतिक पुनर्संरचना र नयाँ ब्राण्डको पहिचान गर्न साविकको लान्डियान ब्राण्डको ठूलो पूँजीगत पुनर्संरचना गरेको छ । कम्पनीको चोङकिङ लान्डियान टेक्नोलोजी आधिकारिक रूपमा चोङकिङ साइदो टेक्नोलोजीमा रूपान्तरण भएको छ।
चोङकिङ साइदोमा शापिङबा जिल्ला सरकार नियन्त्रित कोष शाझि झियुआन, सीएटीएलको सहायक कम्पनी वेन्डिङ इन्भेस्टमेन्ट, बोजुन टेक्नोलोजी र सिङयु शेयर्स लगायतका लगानीकर्ताहरूको समूहबाट ९५ करोड २९ लाख अमेरिकी डलर पूँजी थप गरिएको छ ।
यो सम्झौतापछि सेरेसले यस कम्पनीमा आफ्नो मुख्य हिस्सेदारी छाडेको छ । सेरेसको हिस्सा घटेर ३२.९६ प्रतिशतमा सीमित भएको छ । अर्कोतर्फ शापिङबा सरकार समर्थित प्लेटफर्म ३४.५० प्रतिशत सेयरसहित सबैभन्दा ठूलो सेयरधनी बनेको छ ।


